सङ्खुवासभा । लगातारको वर्षापछि आएको पहिरो र बाढीका कारण सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ।
गएरातिदेखिको वर्षासँगै आएको पहिरोले पाँचखपन नगरपालिकाअन्तर्गत बिहीबारे–भैँसीचोक–पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। प्रहरीका अनुसार कल्लेरी क्षेत्रमा चिउङ्खुवा खोलामा आएको बाढीले सडकमा ठूलो क्षति पुर्याएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार बाढी र पहिरोका कारण पाँचखपन–चैनपुर सडकखण्डको करिब १५ मिटर सडक बगेको छ। वर्षाका कारण पाँचखपनको चुङखुरुङतर्फ ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको उनले बताए।
पहिरोका कारण शनिबार बिहानैदेखि उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन हुन सकेको छैन। निर्माणाधीन अवस्थामा रहेको सडकमा खोलाको बाढीले विभिन्न स्थानमा क्षति पुर्याएको तथा बाढीले कमजोर बनेको भिरालो जमिन खस्दा सडक थप प्रभावित भएको प्रहरीले जनाएको छ।
अवरुद्ध सडक खुलाउन स्थानीय तह, निर्माण कम्पनी र सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। मौसम अनुकूल रहेमा पहिरो पन्छाएर सडक आजै सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।