निर्वाचन आचारसंहिताको नयाँ मस्यौदा : उम्मेदवारले मनोनयनमै खर्च र स्रोत खुलाउनुपर्ने

निर्वाचन आचारसंहिताको नयाँ मस्यौदा : उम्मेदवारले मनोनयनमै खर्च र स्रोत खुलाउनुपर्ने

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले नयाँ निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक गरेको छ । आयोगले प्रस्ताव गरेको मस्यौदामा उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गर्दा नै आफूले निर्वाचनमा गर्ने अनुमानित खर्च र त्यसको स्रोतसमेत अनिवार्य रूपमा खुलाउनुपर्ने जस्ता नयाँ र कडा प्रावधानहरू समावेश गरिएका छन् ।

आयोगले आज रायसुझावका लागि सार्वजनिक गरेको आचारसंहिताको प्रारम्भिक मस्यौदाको दफा १६ मा निर्वाचन खर्चसम्बन्धी व्यवस्थालाई थप पारदर्शी र व्यवस्थित बनाउने प्रयास गरिएको छ । प्रस्तावित व्यवस्थाअनुसार, राजनीतिक दल र उम्मेदवारले निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्नेछ, जसका लागि छुट्टै खाता खोल्नुपर्नेछ । उम्मेदवारले खर्च गर्नका लागि एकजना पदाधिकारी तोक्नुपर्ने प्रावधान पनि मस्यौदामा छ ।

यसका साथै, २५ हजार रुपैयाँभन्दा बढीको आर्थिक सहयोग लिँदा अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामार्फत लिनुपर्ने र कुनै व्यक्ति वा संस्थाबाट स्वेच्छिक रूपमा नगद सहयोग प्राप्त भएमा सो रकम बुझेको रसिद वा भर्पाई दिएर बैंक खातामा जम्मा गर्नुपर्ने प्रस्ताव गरिएको छ । आयोगले निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा भने पछि निर्धारण गर्नेछ ।
प्रस्तावित आचारसंहिताले निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र मितव्ययी बनाउनुका साथै भयमुक्त वातावरणमा सम्पन्न गराउन सबै सरोकारवालाको सहयोगको अपेक्षा गरेको छ । मस्यौदामा दुष्प्रचार, मिथ्या सूचना र द्वेषपूर्ण अभिव्यक्ति दिन नहुने कुरामा पनि कडाइ गरिएको छ । यो आचारसंहिता नेपाल सरकार, प्रदेश सरकारका मन्त्री, सबै सरकारी निकाय, पर्यवेक्षक, सञ्चार प्रतिष्ठान र पत्रकारलगायत सबैलाई लागू हुने व्यवस्था गरिएको छ ।

आयोगले सार्वजनिक गरेको यो मस्यौदामाथि सरोकारवालाबाट रायसुझाव संकलनका लागि आगामी मङ्सिर ७ गतेसम्मको समय तोकेको छ । आयोगमा दर्ता भएका राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्था र आम नागरिकले तोकिएको समयभित्र आफ्नो सुझाव दिन सक्नेछन् ।आचारसंहिताको मस्यौदासँगै आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यक्रमसमेत सार्वजनिक गरिसकेको छ