विराटनगर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि सरकारले म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरिएको छ । आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आईजीपी दानबहादुर कार्की, सशस्त्रका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र सैनिक प्रतिनिधि सहभागी बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना पनि स्विकृत गरेको छ ।
चुनावमा तीनवटा घेरामा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गर्दै पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा सेना परिचालन गरिनेछ । निर्वाचनमा सेना परिचालन गर्दा राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस अनुसार राष्ट्रपतिले निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यसका लागि रक्षा मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरिएको बैठकपछि सहसचिव काफ्लेले जानकारी दिए ।
केन्द्रीय सुरक्षा समितिले वर्तमान सुरक्षा अवस्था र निर्वाचनमा हुनसक्ने सुरक्षा चुनौती विलेषण गरेको छ । निर्वाचनमा भाग नलिने समूह र ब्यारेक बाहिर रहेको हतियार मुख्य चुनौती हुने विष्लेषण गरिएको छ ।

