विराटनगर । विराटनगरमा अवस्थित भानु कलेजले आफ्नो शैक्षिक सत्र २०८०(८१ को प्रथम त्रैमासिक परीक्षामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

शुक्रबार कलेज परिसरमा आयोजित एक कार्यक्रममा कक्षा ११ र १२ का ९ जना उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो । विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक लगन र मिहिनेतको कदर गर्दै पुरस्कृत गरिएको कलेजले जनाएको छ ।

कार्यक्रममा कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक देवेश प्रधान, संस्थापक शेयर सदस्यहरू बसन्त बस्नेत, शुशिल भगत, सोमप्रसाद निरौला, समसाद अन्सारी र कलेजका प्राचार्य मोहनकुमार श्रेष्ठ लगायतले विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

कलेजका अध्यक्ष देवेश प्रधानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न किसिमका सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिहरू समेत प्रदर्शन गरेका थिए । यस किसिमको सम्मानले विद्यार्थीहरूमा थप हौसला मिल्ने र शैक्षिक गुणस्तरमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास कलेजले लिएको छ ।