विराटनगर । २०७९ साल मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कोशी प्रदेशमा नेकपा एमालेको दबदबा थियो । कोशीमा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका २८ निर्वाचन क्षेत्रमध्ये एमालेले १३, काँग्रेसले ९, माओवादीले ३, राप्रपा र जसपाले १–१ र स्वतन्त्रले १ निर्वाचन क्षेत्र जितेका थिए । यस्तै प्रदेशतर्फ ५६ निर्वाचन क्षेत्रमध्ये एमालेले २५, काँग्रेसले १७, माओवादीले ९, नेकपा (एकीकृत समाजवादी)ले ३ र राप्रपाले २ निर्वाचन क्षेत्रमा जितेका थिए ।
समानुपातिक मतलाई हेर्न हो भने पनि कोशीमा नेकपा एमालेले ६ लाख ४२ हजार ३४ मत ल्याएर ठूलो पार्टी बन्यो । काँग्रेसले ५ लाख ५५ हजार २२७ मतका साथ दोस्रो, रास्वपा २ लाख १४ हजार ८१० मतका साथ तेस्रो, माओवादी केन्द्र १ लाख ८८ हजार ६८२ मतका सात चौथो, राप्रपा १ लाख ३० हजार ४०३ मतका साथ पाँचौं, जसपा ५३ हजार २४० मतका साथ छैटौं र नेकपा एकीकृत समाजवादी पार्टीले ४६ हजार २४६ मतका साथ सातौं भएको थियो । यस्तै सिके राउतको जनमत पार्टीले १८ हजार ६५९ मत पाएको थियो ।
आगामी फागुन २१ मा निर्वाचन भएमा भने यो जनमत निक्कै फेरबदल हुने देखिन्छ । जेनजी आन्दोलन पछि परम्परागत दलहरूको वर्चस्वमाथि गम्भीर प्रश्न उठिरहेको छ । लामो समयदेखि सत्ताको बागडोर सम्हालेका एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रजस्ता दलहरुको ‘भोट बैंक’ खल्बलिएको छ । जसको प्रत्यक्ष फाइदा नयाँ र वैकल्पिक शक्तिहरूले उठाउने देखिन्छ ।
कोशी प्रदेशमा पहिचानको आन्दोलनदेखि स्वतन्त्र अभियानसम्मले नयाँ राजनीतिक दलहरूलाई जन्म दिएको छ । हर्क साम्पाङको श्रम संस्कृति पार्टी, कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र योगी मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टीहरु परम्परागत ठूला पार्टीलाई टाउको दुखाइ बनेको छ ।
यद्यपि यी तीन प्रमुख नयाँ शक्तिहरूले फरक–फरक वैचारिक धरातलमा आफ्नो राजनीति अघि बढाएका छन् । धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा बनेको श्रम संस्कृति पार्टीको मूल मन्त्र ‘हर्कवाद’ हो । जसले श्रम, उत्पादन र निर्माणलाई केन्द्रमा राख्छ । पार्टीका प्रवक्ता सत्य घलेका अनुसार उनीहरू पहिचानवादी नभई ‘संस्कृतिवादी’ हुन् र सबै संस्कृतिलाई सम्मान गर्छन् । उनीहरूको अभियान सत्ता प्राप्तिको लागि मात्र नभएर देशव्यापी रूपमा श्रमको संस्कृति स्थापना गर्ने ‘महाअभियान’ हो । ‘चुनावमा जानुपर्ने बाध्यताले मात्र पार्टी दर्ता गरिएको हो, हाम्रो मुख्य उद्देश्य श्रमदान अभियानलाई देशव्यापी बनाउनु हो ।’
कुलमान घिसिङको राष्ट्रिय छविलाई आधार बनाएर गठन भएको उज्यालो नेपाल पार्टीले आफूलाई संघीयता, लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक प्रतिनिधित्वको पक्षधरका रूपमा उभ्याएको छ । पार्टीका केन्द्रीय सदस्य डकेन्द्र सिं थेगिमका अनुसार यी सिद्धान्तहरूले नै पहिचानको मुद्दालाई समेट्छन् । ‘लिम्बुवान, खम्बुवानजस्ता जातीय नाममा पार्टी खोलिराख्नु आवश्यक छैन । पहिचानको मुद्दालाई गलत तरिकाले बुझिएको छ,’ उनले भने । उनी कोशी प्रदेश नामाकरणको विरोधमा भएको आन्दोलनका संयोजक समेत थिए । उनीसहित कुलमानको पार्टीमा पहिचानवादी डाक्टर महेन्द्र लावतीहरुसमेत संलग्न छन् ।
जीवन विकास लघुवित्तका संस्थापक योगी मण्डलले नेतृत्व गरेको राष्ट्रिय उर्जासिल पार्टीको मुख्य एजेन्डा भ्रष्टाचार र खराब नियतविरुद्ध हो । उनी समानुपातिक प्रणालीको दुरुपयोग भएको भन्दै आफ्नो पार्टीमा अध्यक्ष र पदाधिकारीको तीन पुस्ता तथा केन्द्रीय सदस्यको दुई पुस्तासम्मका कसैले पनि समानुपातिकमा अवसर नपाउने विधान बनाउने बताउँछन् । उनको मूल मन्त्र ‘नेपालवाद’ हो । ‘हाम्रो लागि कुनै पनि वादभन्दा ‘नेपालवाद’ ठूलो हो । सफा नियत र देश बनाउने योजनामा सहमत हुने जो कोहीसँग सहकार्य गर्न तयार छौं,’ उनी भन्छन् ।
राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलका अनुसार यो नयाँ राजनीतिक तरंग ‘जेनजी आन्दोलन’ को उपज हो । जसले परम्परागत दलहरूको जग हल्लाइदिएको छ । ‘पुराना दलहरूको भोट बैंक अब सुरक्षित छैन, त्यो खलबलिएको छ ।’
पोखरेलका अनुसार यी नयाँ शक्तिहरूमध्ये कुलमान घिसिङको पार्टीले परम्परागत दलहरूलाई सबैभन्दा गम्भीर र राष्ट्रिय स्तरकै चुनौती दिनसक्छ । ‘कुलमानको छवि कुनै जाति वा क्षेत्र विशेषमा सीमित छैन,’ उनी भन्छन्, ‘उनीसँग महेन्द्र लावतीजस्ता रणनीतिकारहरू छन्, जसले जनजाति मात्र नभई आम मतदातालाई पनि आकर्षित गर्न सक्छ ।’
यी नयाँ शक्तिहरूले पुराना दलहरूप्रतिको वितृष्णालाई आपm्निो पक्षमा पार्ने सम्भावना बोके पनि उनीहरूबीचको एकताको अभाव देखिएको छ । कोशी प्रदेशको पहिचानको आन्दोलनबाटै उदाएका डकेन्द्र थेगिम र हर्क साम्पाङबीच नै ‘कम्युनिकेशन ग्याप’ रहेको थेगिम स्वीकार्छन् । इलामको उपनिर्वाचनका क्रममा ११ हजार बढी मत आउनुमा हर्क साम्पाङको महत्वपूर्ण सहयोग रहेको र त्यसप्रति पूर्ण सम्मान रहने उनी बताउँछन् । तर, पार्टी निर्माण प्रक्रियामा सम्पर्क हुन नसक्दा छुट्टै अघि बढ्नुपरेको उनको भनाइ छ ।
यद्यपि, भविष्यमा हर्क साम्पाङको पार्टीसँग एकता गर्ने पहिलो प्रयास हुने र त्यो सम्भव नभए चुनावी मोर्चाबन्दी गर्ने ढोका खुला राखेको उनले बताए । हर्क साम्पाङको दल श्रम संस्कृति पार्टीका प्रवक्ता घले पनि विचार र व्यहार मिल्नेहरुसँ एकता गर्दै अगाडि बढ्न सकिने बताउँछन् । उता, योगी मण्डल पनि सहकार्यका लागि तयार छन्, तर उनको शर्त छ, ‘नियत सफा हुनुप¥यो र देश बनाउने योजनामा सहमति हुनुप¥यो ।’ विश्लेषक पोखरेल भन्छन्, ‘यी नयाँ शक्तिहरूले पुराना दलहरूलाई ठूलो क्षति पु¥याउने निश्चित छ, तर उनीहरू आफैंमा एक हुन नसके त्यसको पूर्ण लाभ लिन सक्दैनन् ।’
