विराटनगर । नेपाल प्रहरीबाट अबकास भएका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाउन जेनजी आन्दोलनको छानबिन तथा जाँचबुझ आयोगले पत्राचार गरेको छ ।
बिहीबार सेवाबाट अवकास भएकै दिन खापुङलाई विदेश भ्रमणमा रोक लगाउन र काठमाडौं उपत्यका बाहिर जानसमेत आफ्नो स्वीकृति लिनुपर्ने निर्देशन आयोगले गरेको हो ।
आयोगका सदस्य एवम् प्रवक्ता विज्ञानराज शर्माले आयोगले बयानका लागि जतिबेला पनि बोलाउन सक्ने भएकोले बोलाएको बेलामा उपस्थित हुनुपर्ने बताए । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहितलाई पनि विदेश भ्रमणमा रोक लगाइ उपत्यका छाड्नुपर्ने अवस्थामा अनुमति लिनुपर्ने निर्णय आयोगले गरेको थियो । तर, त्यसबारे वक्तब्यबाजी बाहेक सम्बन्धितलाई आयोग वा सरकारले कुनै जानकारी नदिएको खुलेको छ ।
खापुङ सेवाअवधि पूरा गरी नेपाल प्रहरीबाट सेवानिवृत्त भएका हुन् । नयाँ प्रहरी महानिरीक्षकको रुपमा दानबहादुर कार्कीको आजबाटै कार्यकाल सुरु भएको छ ।

