लोड हुँदैछ...

मेनु

फाल्गुनन्दको सन्देश आज पनि सान्दर्भिक : मुख्यमन्त्री कार्की

फाल्गुनन्दको सन्देश आज पनि सान्दर्भिक : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले किरात धर्मका महान गुरु, समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १४१ औं जन्मजयन्तीको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले फाल्गुनन्दले देखाएको सत्य, अहिंसा र नारी सम्मानको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

महागुरु फाल्गुनन्दको जन्म वि.सं. १९४२ कात्तिक २५ गते आइतबार पाँचथरको इम्वुङ्गमा भएको थियो । उनको अतुलनीय योगदानको सम्मानमा कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

आफ्नो शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले महागुरुको सत्य वचन, अहिंसा, परोपकार र नैतिक जीवनशैलीले नेपाली समाजलाई सहिष्णुता, एकता र सद्भावतर्फ अघि बढ्न निरन्तर प्रेरणा दिएको उल्लेख गरे । उनले बाल्यकालदेखि नै समाज सुधारमा सक्रिय फाल्गुनन्दको योगदानले किरात धर्म, संस्कृति र मौलिक परम्पराको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

‘महागुरुको ‘सत्य बोल्ने, अहिंसा अपनाउने, नारीको सम्मान गर्ने’ सन्देश आज पनि हाम्रो जीवनपथका लागि अमूल्य प्रेरणाका स्रोत हुन्, मुख्यमन्त्री कार्कीले भने । उनले महागुरुको आदर्शबाट प्रेरित भई शान्त, समृद्ध र सहिष्णु समाज निर्माणमा सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री कार्कीले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको चर्चा गर्दै सबै जात, भाषा, धर्म र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले संवैधानिक व्यवस्था अनुसार प्रदेशमा विभिन्न भाषाहरूलाई प्रयोगमा ल्याइने प्रतिबद्धता समेत व्यक्त गरे । फाल्गुनन्दको शिक्षाले सत्य, सद्भाव र एकताको भावनालाई सुदृढ पार्ने विश्वास उनको थियो ।

महागुरु फाल्गुनन्दले वि.सं. १९८८ वैशाख २४ गते स्थापना गरेको ‘सत्य धर्म मुचुल्का’लाई एक महत्त्वपूर्ण सामाजिक सुधारको दस्तावेज मानिन्छ, जसमा छोरीको विवाहमा दाइजो लिन नहुने जस्ता प्रगतिशील विचारहरू समेटिएका थिए ।े उनको योगदानको कदर गर्दै नेपाल सरकारले वि.सं. २०६६ मंसिर १६ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।