विराटनगर । वर्षौंदेखि अलपत्र मोरङको कटहरीस्थित हुलाकी राजमार्ग खण्डको ठेक्का रद्द गर्ने प्रक्रिया अगाडि बढेको छ । निर्माण कम्पनीको चरम लापरबाहीविरुद्ध स्थानीयले सडक अवरुद्ध गरेपछि बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले ठेक्का तोड्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको अध्यक्षतामा बसेको बैठकले ठेक्का रद्दको प्रक्रिया थाल्न हुलाकी राजमार्ग निर्देशनालयलाई निर्देशन दिएको छ । निर्देशनालयका सूचना अधिकारी उपेन्द्र दासका अनुसार केन्द्रबाट स्वीकृति आउनासाथ नयाँ ठेक्का प्रक्रिया सुरु गरिनेछ । तत्कालका लागि भने शुक्रबारदेखि नै सडकका खाल्डाखुल्डी पुर्ने र धुलो नियन्त्रण गर्न पानी छर्किने काम निर्देशनालयले गर्ने सहमति भएको छ ।
रतुवादेखि केशलियासम्मको ४४ किमि खण्डमध्ये कटहरीको सिंघीया खोलादेखि रामचौकसम्मको करिब ६ किलोमिटर सडक निर्माणको जिम्मा श्रेष्ठ कन्स्ट्रक्सनले २०७६ सालमा लिएको थियो । दुई वर्षभित्र काम सक्ने सम्झौता भए पनि कम्पनीले कामै नगरी सम्पर्कविहीन भएपछि सडक जीर्ण बन्दै गएको थियो, जसका कारण स्थानीयले सास्ती खेप्दै आएका थिए ।
पटक पटकको आग्रहलाई बेवास्ता गरिएपछि स्थानीयले बिहीबार सडकमा ढाट लगाएर विरोध गरेका थिए, जसले प्रशासनलाई वार्ताका लागि बाध्य बनाएको हो ।
यद्यपि, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले जिल्ला तहको सहमतिले मात्रै स्थायी निकास नदिने बताएका छन् । ‘यो संघीय सरकारको योजना हो, केन्द्रले तत्काल पुरानो ठेक्का रद्द गरेर नयाँ प्रक्रिया सुरु नगर्दासम्म नागरिकको सास्ती हट्दैन,’ उनले भने, ‘कार्यान्वयनमा ढिलाइ हुँदाको सबै दबाब स्थानीय तह र नागरिकले खेप्नुपरेको छ ।’

