लोड हुँदैछ...

मेनु

चितवनमा रास्वपाको पहिलो महाधिवेशन आजदेखि: रवि र बालेनले संयुक्त उद्घाटन गर्ने

चितवनमा रास्वपाको पहिलो महाधिवेशन आजदेखि: रवि र बालेनले संयुक्त उद्घाटन गर्ने

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम छ । देशभरका ६१० पालिका, ४ हजार ६३ वडा र ६४ जिल्लाबाट छानिएका ३ हजार ९१८ प्रतिनिधिको सहभागिता रहने यो महाधिवेशनले पार्टीको भावी राजनीतिक रणनीति र नयाँ नेतृत्व तय गर्नेछ ।

झण्डै पाँच लाख सदस्य पुगेको दाबी गर्ने रास्वपाले यसपटक टोलस्तरसम्म संगठन विस्तार गर्ने लक्ष्य राखेको छ । प्रवक्ता मनिष झाका अनुसार महाधिवेशनका लागि १८ वटा उपसमितिमार्फत गरिएका आवास, सुरक्षा र व्यवस्थापनका सबै तयारी पूरा भइसकेका छन् । महाधिवेशनले निर्वाचनमा प्राप्त जनमतलाई ऊर्जाका रूपमा लिँदै संगठन सुदृढीकरण र जनसम्बन्ध मजबुत बनाउने कार्यदिशा पारित गर्ने विश्वास लिइएको छ ।

सांगठनिक संरचनामा व्यापक हेरफेर गर्दै रास्वपाले अब १५१ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने प्रस्ताव गरेको छ । नयाँ विधानअनुसार पदाधिकारीमा महिला सहभागिता अनिवार्य गरिएको छ, जसअन्तर्गत उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्षमा एक–एक जना महिला सुनिश्चित हुनेछन् । प्रस्तावित संरचनामा एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति, दुई महामन्त्री र पाँच सहमहामन्त्रीसहितका पदहरू रहनेछन् ।

संशोधित विधानअनुसार ९९ जना केन्द्रीय सदस्य खुला प्रतिस्पर्धाबाट निर्वाचित हुनेछन् भने बाँकी ५१ जनालाई समावेशिताका आधारमा सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ । प्रत्येक प्रदेशबाट कम्तीमा एक महिलासहित पाँच जनाको प्रतिनिधित्व रहने यस समितिमा प्रदेश सभापतिहरू पदेन सदस्य रहनेछन् । महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिक र विधान प्रतिवेदनहरूमाथि व्यापक छलफल गरी पार्टीको आगामी वैचारिक बाटो तय गरिने सचिवालय सदस्य हरि ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।