विराटनगर । प्रहरीले झापा र मोरङ जिल्लाका विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित पाँच जनालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रणमा सक्रियता बढाएको प्रहरीले कार्तिक २० गते चलाएको विशेष अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
सबैभन्दा ठूलो परिमाणमा लागूऔषधसहित झापाबाट एक जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको टोलीले मेचीनगर नगरपालिका ६ बाट चेकजाँच गर्ने क्रममा दमक नगरपालिका ५ का ३१ वर्षीय राजु श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो । श्रेष्ठको साथबाट प्रहरीले ४५ ग्राम ९३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ ।
झापामै भएको अर्को घटनामा वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर ५ बाट भद्रपुर ४ का ३० वर्षीय पुरण बिश्वकर्मालाई २ ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । ब्राउन सुगरबाहेक प्रतिबन्धित औषधीसहित एक जना पक्राउ परेका छन् । प्रहरी चौकी चारआलीले मेचीनगर १३ बाट मेचीनगर ३ का ३० वर्षीय प्रशान्त सेन्चुरीलाई प्रतिबन्धित औषधी लोरी १६० ट्याब्लेट र ट्रामाडोल ६० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।
यसैगरी, लागू औषध नियन्त्रण ब्युरो विराटनगरले विराटनगर १६ बाट मोटरसाइकलमा सवार २ जनालाई पक्राउ गरेको छ। को ४ प ७४२ नम्बरको मोटरसाइकलका चालक सुन्दरहरैचा १० का २८ वर्षीय शुसान्त पोखरेल र पछाडि सवार सुन्दरहरैचा ९ का ३८ वर्षीय चेवन धिमाललाई ११ ग्राम २२ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबै पाँचै जनामाथि आवश्यक अनुसन्धान भइरहेको र उनीहरूमाथि लागू औषध नियन्त्रण ऐनबमोजिम थप कारबाही अगाडि बढाइने प्रहरीले जानकारी दिएको छ ।

