विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित बाल सुधार गृहबाट ९ जना ‘बाल बिझ्याइँकर्ता’ फरार भएका छन्।
बिहीबार दिउँसो करिब ४ बजेतिरको घटनामा उनीहरूले ड्युटीमा रहेका प्रहरीमाथि नै हातपात गर्दै भागेका हुन् ।
सुधार गृहमा राखिएकामध्ये ९ जना बिझ्याइँकर्ताको समूह कर्मचारीहरू घर जाने समय पारेर गेट खुल्ने मौकामा फरार भएका थिए । उनीहरूको आक्रमणबाट ड्युटीमा रहेका ३ जना सादा पोसाकका प्रहरी सामान्य घाइते भएका छन् ।
फरार भएकामध्ये २ जना बाल बिझ्याइँकर्ता प्रहरीको सम्पर्कमा आइसकेका छन् । अन्य ७ जनाको खोजी कार्य जारी रहेको मोरङ प्रहरीले जनाएकेक छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले भागेकाहरू १८ वर्षभन्दा माथिका रहेको र उनीहरूले जबरजस्ती गरेर फरार भएको बताए । फरार भएकामध्ये दुई जनालाई नियन्त्रणमा लिइसकिएको उनले जानकारी दिए । फरार हुनेहरू १८ वर्षभन्दा माथिका छन् ।
सुधार गृहमा विभिन्न उमेर समूहका बिझ्याइँकर्ता एकै ठाउँमा बस्ने भएकाले समय समयमा समस्या आउने गरेको छ ।
फरार बिझ्याइँकर्ताका घरपरिवारलाई खबर गरिसकेको र घर पुगेमा प्रहरीलाई जानकारी दिन भनिएको कटवालले बताए । एसपी कटवालले सुधार गृहभित्रको क्षमताभन्दा बढी बिझ्याइँकर्ता बस्ने गरेका कारण समस्या थपिएको बताएका छन् ।
स्थानीय बासिन्दाका अनुसार सुधार गृहको पर्खाल बाहिरबाट झोलामा सामान फ्याँक्ने गतिविधि पनि हुने गरेको छ । प्रहरीले फरार भएका बाँकी ७ जनाको खोजीका लागि टोली परिचालन गरेको जनाएको छ ।

