विराटनगर । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत मोरङको कटहरी गाउँपालिकास्थित सिंघीया खोलादेखि नयाँबजारसम्मको सडक खण्ड निर्माण ६ वर्षदेखि अलपत्र परेपछि स्थानीय युवाहरूले बिहीबार सडक अवरुद्ध पारेर आन्दोलनमा उत्रिएका छन् । निर्माण कार्यमा भएको चरम ढिलासुस्तीको विरोधमा उनीहरूले ठेक्का रद्द गर्न माग गर्दै विराटनगर–रंगेली सडक खण्डमा चक्काजाम गरेका हुन् ।
घाम लाग्दा धुलो र पानी पर्दा हिलोले आजित भएका हजारौँ नागरिकको दैनिकी कष्टकर बनेको छ । निर्माण व्यवसायीको चरम लापरबाही र सम्बन्धित सरकारी निकायको निरीहताका कारण करिब ६ किलोमिटर सडक खण्ड ‘विकास नभई विसङ्गतिको नमूना’ बनेको स्थानीयको आरोप छ ।
यो सडक खण्ड हुलाकी राजमार्गको रतुवा खोलादेखि विराटनगरको केशलिया खोलासम्मको ४४ किलोमिटर लामो परियोजना हो । तीन वर्षभित्र चार लेनको फराकिलो सडक निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७६ सालमा गजुरमुखी र श्रेष्ठ कन्स्ट्रक्सन प्रालिलाई संयुक्त रूपमा तीन अर्ब ६० करोड रुपैयाँमा ठेक्का दिइएको थियो ।
तर, कटहरी खण्डको जिम्मेवारी पाएको श्रेष्ठ कन्स्ट्रक्सनले कामलाई पूर्णतः बेवास्ता गर्दा सिङ्गो परियोजनाकै गतिमा अवरोध सिर्जना भएको छ । सुवास श्रेष्ठ सञ्चालक रहेको श्रेष्ठ कन्स्ट्रक्सनले ७६ करोड रुपैयाँमा लिएको सिंघीया खोलादेखि कटहरी–४ स्थित जुडीखोलासम्मको ६ किलोमिटर खण्डको निर्माण सम्झौता २०७६ कार्तिक २४ गते भएको थियो । सम्झौताअनुसार २०७९ कार्तिक २३ गतेसम्ममा सम्पन्न हुनुपर्नेमा तोकिएको समयमा काम सुरुसमेत हुन सकेन ।
कामले गति नलिएपछि पहिलो पटक म्याद थप गरियो । त्यसपछि पनि अवस्था उस्तै रहेपछि दोस्रो पटक थपिएको म्याद समेत गत जेठ मसान्तमा सकिइसकेको हुलाकी सडक आयोजनाले जनाएको छ । ६ वर्षको लामो अवधिमा जम्मा २७ प्रतिशत भौतिक प्रगति हुनुले राज्य संयन्त्रको असफलतालाई प्रतिबिम्बित गर्ने स्थानीय बताउँछन् ।
लामो समयदेखि निर्माण कार्य रोकिएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । सडकको दुर्दशाले स्थानीयको दैनिकी, स्वास्थ्य र सुरक्षामा गम्भीर असर पारेको छ भने सो करिडोरमा रहेका उद्योगहरूको उत्पादन ढुवानीमा समेत बाधा पुगेको छ । यसअघि पनि पटक(पटक जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायमा ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएपछि सडकमा उत्रिनु परेको आन्दोलनकारीले बताएका छन् । उनीहरूले तत्काल काम नगर्ने ठेकेदारको ठेक्का रद्द गरी कालोसूचीमा राख्न र नयाँ प्रक्रियामार्फत काम अघि बढाउन माग गरेका छन् ।


