विराटनगर । मोरङको जहदा गाउँपालिका–३ बाट लागुऔषध गाँजासहित प्रहरीले एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।
सिरहाको नेपाल रेडक्रस सोसाइटी जिल्ला उपशाखा सुखीपुर–१० दहीपौडीको एम्बुलेन्सबाट प्रहरीले गाँजा बरामद गरेको छ । गाँजा ओसारपसारमा संलग्न एम्बुलेन्स चालकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार राति जहदा–३ मा स १ च ६५६ नम्बरको एम्बुलेन्सलाई शंका लागेर चेकजाँच गर्दा एम्बुलेन्सभित्र कालो रंगको झोलामा लुकाई छिपाइ राखेको अवस्थामा ३३ किलो ६१० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ । बरामद गरेको गाँजासहित एम्बुलेन्स चालक विराटनगर–५ का ३२ वर्षीय दुर्गाप्रसाद राजवंशीलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।
एम्बुलेन्ससँगै रहेको को ३१ प ८८८९ नम्बरको मोटरसाइकल चालक जहदा गाउँपालिका–३ का ३२ वर्षीय दिलीपकुमार राजवंशीलाई पनि प्रहरीले पक्राउ गरेको छ । दिलीप गाडी स्कटिङ गर्दै अघि बढेको अवस्थामा पक्राउ परेका हुन् । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रहरीको भनाइ छ ।
यस्तै, विराटनगर महानगरपालिका–५ बाट सुनसरीको देवानगञ्ज गाउँपालिका–२ का विकासकुमार यादव र भारत विहार पूर्णियाका कृष्णकुमार मेहतालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । बीआर ५० एडी ०२२७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा ५३ ग्राम १७ मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । दुब जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, पथरीशनिश्चरे नगरपालिका–९ का २३ वर्षीय कबिन कार्कीलाई लागुऔषध ब्राउनसुगर ९३० मिलिग्रामसहित पक्राउ गरेको छ । कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

