लोड हुँदैछ...

मेनु

देउसी खेलेर संकलित रकम पुनर्निर्माण कोषमा हस्तान्तरण

देउसी खेलेर संकलित रकम  पुनर्निर्माण कोषमा हस्तान्तरण

धरान । तिहारमा देउसी खेलेर संकलन गरिएको २ लाख १ हजार १०० रुपैयाँ धरान–१७ का सचेत नागरिक समूहले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि प्रदान गरेको छ ।

समूहले तिहारमा एक दिने सांस्कृतिक देउसी कार्यक्रम आयोजना गरी उक्त रकम संकलन गरेको थियो ।

संकलित रकम नेपाल सरकारले राष्ट्रिय वाणिज्य बैंकमा खोलेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषको खाता नम्बर १९६०१००१०२०७०००४० मा मंगलबार जम्मा गरिएको हो । जम्मा रकमको डिपोजिट भौचर बुधबार इलाका प्रशासन कार्यालय धरानका प्रमुख लक्ष्मीप्रसाद रेग्मीलाई धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमका संयोजक दयाराम थापाका अनुसार सांस्कृतिक परम्परा जोगाउँदै सामाजिक उत्तरदायित्वमा हातेमालो गर्ने उद्देश्यले देउसी कार्यक्रम आयोजना गरिएको थियो । पुनर्निर्माणका लागि आयोजित देउसी कार्यक्रम कात्तिक ५ गते रेल्वे चोकमा वडा कार्यालयको सहकार्यमा सम्पन्न भएको थियो ।

यसअघि पनि सचेत नागरिक समूहले सामाजिक कार्यमा सक्रियता देखाउँदै आएको छ । २०८१ सालको भीषण बाढीका पीडितका लागि देउसीबाट संकलित २ लाख ५ हजार रुपैयाँ सरकारी राहत कोषमा बुझाएको थियो भने कोरोना महामारीको समयमा समूहले खाद्यान्न वितरण, लत्ताकपडा सहयोग, होल्डिङ सेन्टर र क्वारेन्टाइन व्यवस्थापनमा सक्रिय भूमिका खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।