विराटनगर । शहरमा बढ्दो सवारी चाप र दुर्घटना न्यूनीकरणका लागि स्थानीय नागरिकको सक्रिय साथ आवश्यक रहेको जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेले बताएका छन् ।

विराटनगर जेसीजले जेसीज सप्ताह–२०२५ अन्तर्गत नोबेल अस्पताल गेट अगाडि आयोजना गरेको सफारी चालकहरुलाई रिफ्लेक्सन ज्याकेट वितरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले भने, “ट्राफिक प्रहरी मात्रको प्रयासले शहर व्यवस्थापन सम्भव हुँदैन, नागरिकको सहयोग र सचेत सहभागिता अपरिहार्य छ ।”

प्रमुख न्यौपानेले ट्राफिक व्यवस्थापनमा देखिने सुधारका लागि कार्यालयले निरन्तर प्रयास गरिरहेको बताउँदै आम नागरिकलाई त्यसमा साथ दिन आग्रह गरे । कार्यक्रमका विशिष्ट अतिथी तथा विराटनगर जेसीजका पूर्वअध्यक्ष सेवक बजगाईंले जेसीजले सदैव सामाजिक उत्तरदायित्व वहन गर्दै आएको बताउँदै भने, “सडक सुरक्षा सबैको जिम्मेवारी हो, यस्ता कार्यक्रमले चालकहरूमा सजगता र जिम्मेवारीको भावना बढाउँछ ।”

त्यसैगरी, विराटनगर जेसीजका अध्यक्ष प्रीतेश राज दाहालले भने, “हामीले यो अभियानलाई सडक दुर्घटना घटाउने सामाजिक सन्देशका रूपमा अघि बढाएका छौं । जेसीज सधैं समुदायमै पुगेर व्यवहारिक प्रभाव पार्ने खालका कार्यक्रम गर्छ ।” मुख्य कार्यक्रम संयोजक तथा वरिष्ठ कार्यकारिणी उपाध्यक्ष कविराज दाहालले बढ्दो दुर्घटना न्यूनीकरणका लागि यो अभियानलाई निरन्तरता दिइने बताए ।

उनले भने, “हाम्रो सानो प्रयासले पनि ठूलो प्रभाव पार्न सक्छ भन्ने विश्वासका साथ हामी यो पहल गरेका हौं ।” रिफ्लेक्सन ज्याकेट पाएका एक सफारी चालकले भने, “राति यात्रु बोकेर हिंडदा यो ज्याकेटले सुरक्षामा ठूलो सहयोग पुर्‍याउनेछ । हाम्रो सुरक्षातर्फ ध्यान दिएकोमा जेसीजलाई धन्यवाद छ ।”

उक्त रिफ्लेक्सन ज्याकेटहरू विराटनगरको कंचनवारीमा रहेको चुलो थकाली रेष्टुरेन्टले प्रायोजन गरेको जेसीजले जनाएको छ । कार्यक्रममा कार्यक्रम संयोजक विकास राजवंशीले धन्यवाद ज्ञापन गर्दै सबै सहभागी र सहयोगी संस्थाप्रति आभार व्यक्त गरे । कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय मोरङका लेखा प्रमुख सनम घिमिरे , विराटनगर जेसीजका पुर्व अध्यक्ष देवचन्द्र घिमिरे लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, ट्राफिक प्रहरी, सफारी चालक, जेसीजका सदस्यलगायत स्थानीय नागरिकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।