भोजपुर । भोजपुर र संखुवासभाको उत्तरी क्षेत्र जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल १५ वर्षदेखि अलपत्र रहेको छ । विसं २०६७ मा निर्माण थालिएको पुलमा ४ करोड रुपैयाँ खर्च भइसकेको छ भने निर्माण अलपत्र छ ।

लामो समयसम्म पुल अलपत्र बनेपछि स्थानीय आक्रोशित छन् । भोजपुर षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केका अनुसार संघीय सरकारको करिब ४ करोड रुपैयाँ खर्च गरेर ६ वटा पिलरको आधार (बेस) राखेपछि निर्माण रोकिएको हो ।

वडाध्यक्ष विसन्केका अनुसार स्थानीयले पुल बनाउन ताकेता गरेपनि सम्बन्धित कार्यायले चासो दिएको छैन । अरुण नदिमा १७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो । निर्माणका क्रममा नै अलपत्र बनेको पुल सम्पन्न गराउन सम्बन्धित निकाय गम्भीर नबनेको स्थानीय भक्तराज विश्वकर्माले बताए ।

२०६७ सालमा पुल निर्माण सुरु गरेको निर्माण कम्पनीले सम्झौताअनुसार सो पुल २०७० सालमा सक्नुपर्ने थियो । तर, काम अलपत्र बनाएपनि सम्बन्धित कार्यालयले कुनै चासो नदिएको स्थानीयको गुनासो छ ।