विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।

श्रेष्ठले १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलाउन नसकेको भन्दै सोही रकम बराबरको बिगो कायम गरी आयोगले आरोपपत्र दायर गरेको हो । आयोगले सोमबार जारी गरेको विज्ञप्तिअनुसार श्रेष्ठले सार्वजनिक पदमा रहेर पदीय अख्तियारको दुरुपयोग गरी अस्वाभाविक जीवनस्तर यापन गरेको र गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान थालिएको थियो ।

अनुसन्धानका क्रममा श्रेष्ठको सार्वजनिक सेवा प्रवेश मिति २०४८ साल असार २६ गतेदेखि २०८० साल फागुन १६ गतेसम्मको आय र व्ययको विश्लेषण गरिएको थियो । सो अवधिमा श्रेष्ठ र उनको परिवारको वैध आय २ करोड १६ लाख ८५ हजार ५५७ रुपैयाँ देखिएको छ । तर, सोही अवधिमा उनको खर्च तथा लगानी ३ करोड ६० लाख ४ हजार ४९५ रुपैयाँ देखिएको आयोगले जनाएको छ।

आयोगका अनुसार श्रेष्ठको कुल आयभन्दा कुल व्यय १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँले बढी देखिएको छ । सो रकमको स्रोत पुष्टि हुन नसकेकोले गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर अख्तियारले गरेको हो ।

आयोगले श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा १ बमोजिमको कसूरमा बिगोबमोजिम कैद र जरिवानाको माग गरेको छ। गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न पनि मागदाबी गरिएको छ ।

अख्तियारले श्रेष्ठले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नी नरमाया श्रेष्ठ, बुहारी भावना वरुवाल र बुहारी सञ्चालक रहेको फरेष्ट एण्ड इन्भारोमेन्ट रिसर्च अर्गनाइजेशन प्रालिको नाममा लुकाएको पाइएको जनाएको छ । सो सम्पत्ति जफत गर्ने प्रयोजनका लागि नरमाया श्रेष्ठ, भावना वरुवाल र कम्पनीलाई समेत प्रतिवादी बनाइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

डिभिजन वन कार्यालय, इलामका कार्यरत रहेको बेला आयोगले उनीमाथि अनुसन्धान थालेको थियो ।