सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–२ स्थित मकालु आधार शिविरमा आरोहणका लागि पुगेका एक स्पेनिस नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
प्रतिकूल मौसमका कारण हिमपात भएर मकालु–२ को शेर्पे नोकोलमा फसेका स्पेनिस नागरिक जेसस मार्टिनेज नोभासलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार मकालु–२ स्थित मकालु आधार शिविरको शेर्पे नोकोलमा फसेका मार्टिनेज नोभासलाई आइतबार बिहान साढे ८ बजे हेलिकप्टरमार्फत उद्धार गरिएको हो । प्रतिकूल मौसम र लगातारको हिमपातका कारण उनी फसेको ६ दिनपछि उद्धार गरिएको हो।
मकालु आधार शिविरको करिब ५ हजार ७ सय मिटर उचाइमा रहेको र्पे नोकोलबाट उद्धार गरिएको प्रहरी नायब उपरीक्षक मैनालीले जानकारी दिए । उद्धारपछि स्पेनिस नागरिक मार्टिनेज नोभासलाई मकालु आधार शिविरबाट हेलिकप्टरमार्फत सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ दिङबोचेतर्फ लगिएको छ ।
लगातारको वर्षा, हिमपात र प्रतिकूल मौसमका कारण मंगलबारदेखि नै उनी आधार शिविरको शेर्पे नोकोलमा फसेका थिए। उद्धारका लागि हेलिकप्टर माग गरिएको भए पनि मौसम खराब भएकाले कठिनाइ भएको प्रहरीको भनाइ छ।
मकालु आधार शिविर क्षेत्रमा करिब ७० जना विदेशी पर्यटक र करिब ६० जना नेपाली पर्यटक रहेका छन्।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।