जलेको अवस्थामा कार भेटिएको दुई दिनपछि शर्माको शव फेला, दुई जना पक्राउ

विराटनगर । सात दिनअघि आफ्नै कारसहित हराएका झापाको शिवसताक्षी नगरपालिका–१० निवासी ३३ वर्षीय सरोज शर्माको शव डिएको अवस्थामा फेला परेको छ ।

शर्माको शव शनिबार बिहान बाह्रदशी र झापा गाउँपालिका सीमा पर्ने बिरिङ नदीको पुल मुनि गाडिएको अवस्थामा फेला परेको हो ।

गत बिहीबार मेचीनगर नगरपालिकास्थित जंगलभित्र बिहीबार बिहान आगलागी भएको अवस्थामा उनको कार भेटिएको थियो । चारआली–भद्रपुर सडक खण्डमा पर्ने मेचीनगर नगरपालिका–१२ र १३ नम्बर वडाको सिमानामा रहेको निजा झोडाभित्र जलिरहेको अवस्थामा कार फेला परेको हो ।

पुलमुनि खाल्डो खनी पुरिएको शव गन्हाएको अवस्थामा स्थानीयले फेला पारेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान गर्दा तत्काल पहिचान नखुलेको शव शर्माको भनी खुलेको हो।

शर्माले लगाएको लुगा र हुलियाको आधारमा शवको पहिचान गरिएको प्रहरीले जनाएको छ । उनको टाउको गम्भीर चोट देखिएको छ । शर्माको हत्या गरी शव यहाँ ल्याएर गाडेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

शवको पहिचान मृतकको श्रीमतीले गरेकी थिइन् । उनको हत्या कहिले र कहाँ भयो त्यस बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको कानुनी प्रक्रिया पूरा पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

घटनामा संलग्न भएको आशंका प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । कार जलेको घटनापछि लगत्तै अनुसन्धान थालेको झापा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा २५ वर्षीय सुनिल साह र अन्दाजी २६ वर्षीय राहुल साह पक्राउ परेका हुन् । प्रहरीले एक जनालाई जोगवनी र अर्का एक जनालाई माइधारबाट नियन्त्रणमा लिएको बुझिएको छ । प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका व्यक्तिहरु लागुऔषध कारोवारी हुन सक्ने अनुमान गरिएको छ ।

दुई दिनअघि मात्र शर्माको सेन्लटस कम्पनीको बा १(०३० च ७१९४ नम्बरको कार चारआली–भद्रपुर सडक खण्ड अन्तर्गत चारआली जंगलको हातेमालो सामुदायिक वनभित्र जलिरहेको अवस्थामा फेला परेको थियो । गाडी कसले ल्याएर जलाएको भनी अझै खुलेको छैन । गाडी जलेको अवस्थामा भेटेपछि प्रहरीले सो घटनालाई सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको बेला शर्माको शव भेटिएको हो ।

शर्मामा गत कार्तिक ९ गते दिउँसो ४ बजे माइधारस्थित घरबाट छठ पूजाका लागि गाडी धुने भन्दै निस्केका थिए । सम्पर्कविहीन भएका शर्मा झापाका विभिन्न बजारमा घुमेको सिसी फुटेज देखिएको थियो । उनी सुरुङामा अन्तिम पटक देखिएका थिए । त्यसपछि उनी सम्पर्कविहीन भएका थिए ।

शर्मा काठमाडौँस्थित आइटी अफिसमा काम गर्दै आइरहेका थिए । उनी तिहार तथा छठ मनाउन घर आएका थिए । बेपत्ता भएका उनको शव विरिङ पुलमुनि गाडेर माथिबाट टिनले छोपिएको अवस्थामा फेला परेको थियो । घटनाको प्रकृति हेर्दा हत्या ३-४ दिनअघि नै हत्या भएको जस्तो देखिने प्रहरीले बताएको छ ।

यसैबीच शर्माको शव फेला परेपछि आक्रोशित स्थानीयले माईधारमा एउटा घर तोडफोड गरेका छन् । शिवसत्ताक्षी १० माईधार चोकमा एउटा टेम्पो पनि तोडफोड भएको छ ।

हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका राहुल साहको घरमा शनिबार बिहान तोडफोड भएको हो । डीएसपी खड्काका अनुसार एउटा घरको झ्यालको सीसा र अन्य सामन तोडफोड भएको छ । मृतकको शव बोक्नलाई प्रयोग गरेको आशंकामा आक्रोशित भिडले एउटा टेम्पो पनि तोडफोड गरेको थियो ।

कार्तिक १५, २०८२, दिउँसोको ०३:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर