उडान नभएपछि लुक्ला र नाम्चेका होटलमा पर्यटक भरिभराउ

सोलुखुम्बु । प्रतिकूल मौसमका कारण सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेञ्जिङ–हिलारी विमानस्थलमा तीन दिनदेखि हवाई उडान नहुँदा पर्यटकहरु अलपत्र परेका छन् ।

निरन्तर सिमसिमे पानी परिरहेको आकाश कुहिरोले छोपिएको कारण उडान नहुँदा लुक्लादेखि नाम्चे बजारसम्मका होटल पर्यटकले भरिएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका हवाई ट्राफिक नियन्त्रक नवराज कटुवालका अनुसार निरन्तर झरी परेकाले बिहीबारदेखि हवाई उडान हुन सकेको छैन । दैनिक औसत ६० भन्दा धेरै हवाई उडान हुने लुक्ला बिमानस्थल बन्द भएको कारण पर्यटकको चाप परेको हो ।

झरी परेकाले भिजिविलिटी न्यून हुँदा हेलिकप्टरको उडान पनि हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ । बिहीबार केही हेलिकप्टरको उडान भएपनि शुक्रबार र शनिबार हुन सकेको छैन । उडान रोकिएसँगै खुम्बु क्षेत्र भ्रमण गरी फर्कने तयारीमा रहेका पर्यटकहरु लुक्लामै अड्किएका छन् ।

तारा एयरलाइन्स लुक्लाका इञ्चार्ज अमृत मगरका अनुसार एयरलाइन्सबाट टिकट काटेका करिब एक हजार ५ सय हाराहारी पर्यटक लुक्लामै छन् । उडान नभएपछि नयाँ पाहुनाका लागि त्यस क्षेत्रमा कोठा पाउन मुस्किल भएको मगरले बताए ।

कोठा भरिएपछि होटलले पर्यटकलाई लबीमै बसाएको स्थानीय तोयाकुमार श्रेष्ठले बताए । लुक्लामा मात्रै होइन नाम्चे बजारका होटल पनि पर्यटकले भरिएका छन् । नाम्चेमा मात्रै करिब १ हजार २ सय पर्यटक रोकिएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताए ।

लगातारको झरी र माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छ । अहिले माथिल्लो क्षेत्रमा गएका पर्यटक नाम्चे आइपुगेका छन् भने लुक्लाबाट माथि हिँडेका पर्यटक पनि नाम्चेमै अड्किएका छन् । नाम्चेमा चार दिनदेखि घाम लागेको छैन ।

हवाई उडान ठप्प भएपछि केही पर्यटक भने लुक्लाबाट सल्लेरी हुँदै स्थलमार्गबाट काठमाडौँ फर्किने प्रयासमा छन् । तर, बर्खाका कारण सोलुखुम्बु–काठमाडौँ सडक खण्डका विभिन्न ठाउँमा पहिरो र हिलोका कारण आवागमन अवरुद्ध भएको छ ।

कार्तिक १५, २०८२, दिउँसोको ०२:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर