विर्तामोड । लगातारको वर्षापछि आएको बाढीले पूर्व–पश्चिम राजमार्ग (एसियन हाइवे) अन्तर्गत झापाको शिवसताक्षी नगरपालिकास्थित भालुखोलामा बनाइएको डाइभर्सनमा क्षति पुर्याएको छ ।
बाढीले डाइभर्सनमा क्षति गरेपछि राजमार्ग एकतर्फी सञ्चालन भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
निर्माणाधीन एसियन हाइवेअन्तर्गत भालुखोलामा नयाँ पुलका लागि डाइभर्सन बनाइएको छ । निरन्तरको वर्षापछि खोलामा बाढी आउँदा त्यस क्षेत्रमा पटक–पटक राजमार्ग अवरुद्ध हुँदै आएको छ । गत असोजमा आएको बाढीले पनि भालुखोलाको डाइभर्सन बगाएको थियो ।
अहिले राजमार्ग अवरुद्ध नै नभए पनि डाइभर्सनमा क्षति पुगेको र राजमार्गलाई एकतर्फी बनाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सन्तोष राईले जनाए । झापासहित पूर्वी क्षेत्रमा बिहीबार रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ भने खोलानालामा पानीको बहाव बढिरहेको छ ।


 
						 
															 
															 
															 
															 
															