लगातारको वर्षाले कोशी प्रदेशको जनजीवन प्रभावित, किसानलाई ठूलो क्षति

विराटनगर । मोन्था चक्रवातको कारण गए रातिदेखि भइरहेको बेमौसमी अविरल वर्षाले कोशी प्रदेशसहित पूर्वी नेपालभर जनजीवन अस्तव्यस्त बनेको छ ।

असामान्य वर्षाका कारण किसानहरूले भर्खर थन्काउने क्रममा रहेका धानबाली र नयाँ लगाइएका तोरीबालीमा ठूलो क्षति पुगेको छ ।

तराईदेखि हिमालसम्मका क्षेत्र प्रभावित हुँदा प्रदेशका सडक, विद्यालय र बाली सबै क्षेत्रमा क्षति पुगेको छ । सुनसरी, मोरङ, झापा, उदयपुर लगायतका जिल्लामा धानबाली पानीमा डुबानमा परेका छन् ।

कतिपय किसानले काटिसकेको धान भित्र्याउन नपाई खेतमै डुबेको छ । अधिकांश किसानको पाकिसकेको धान पनि डुबानमा परेको छ।

वर्षाको असरले विराटनगर महानगरपालिकाका अधिकांश विद्यालय शुक्रबार बन्द गरियो। इटहरी उपमहानगरपालिकाले सुरक्षा जोखिम र यातायात समस्या ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । वर्षा नरोकिएपछि शुक्रबार मोरङ र सुनसरीका अधिकांश शैक्षिक संस्था बन्द भए।

लगातारको वर्षाका कारण तराईका अधिकांश भूभाग जलमग्न बनेका छन् भने नदीनालामा पानीको बहाव तीव्र बनेको छ । विशेषगरी मेची राजमार्ग र कोशी राजमार्गका कतिपय सडक खण्डमा पहिरो र पानीको बहावले आवागमन अवरुद्ध भएको छ । कोशी राजमार्गको भेडेटार नजिक पहिरो खसेर सडक अवरुद्ध भएको छ भने मेची राजमार्गको इलाम राजदुवाली खण्ड अवरुद्ध बनेको छ। यस्तै तमोर करिडोर लगायतका सडक पनि अवरुद्ध बनेका छन्।

उत्तरी पहाडी क्षेत्रमा भने अत्यधिक हिमपातका कारण जनजीवन थप कठिन बनेको छ । क्षति न्यूनीकरणको लागि स्थानीय प्रशासन र स्थानीय सरकार सक्रिय भएका छन्।

मौसमविद्हरूले वर्षा शनिबारसम्म जारी रहने अनुमान गरेका छन् । त्यसले किसानको चिन्ता झनै बढाएको छ ।

कार्तिक १४, २०८२, दिउँसोको ०१:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर