लोड हुँदैछ...

मेनु

शरीर सुन्निएर श्वास लिन गाह्रो हुने समस्याले दुई कैदिबन्दीको मृत्यु

शरीर सुन्निएर श्वास लिन गाह्रो हुने समस्याले दुई कैदिबन्दीको मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङमा पछिल्लो एक सातामा दुई कैदीबन्दीको मुत्यु भएको छ ।

जिल्ला कारागार मोरङका अनुसार बिहीबार बिहान एक जना कैदीको मृत्यु भएको हो । गत शुक्रबार राति एक जना बन्दीको मृत्यु भएको थियो ।

दुवै कैदीबन्दीको स्वास्थ्य समस्या भने एउटै छ । कारागार प्रशासनका अनुसार दुवैको शरीर सुन्निने र शाश फेर्न गाह्रो हुने समस्या थियो ।

मोरङको उर्लाबारी नगरपालिका– १ घर भएका २० वर्षीय मुस्कान दनुवारको बिहीबार मृत्यु भएको हो । उनी जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भइ १२ वर्षको कैद सजाय भोगिरहेका थिए ।

गम्भीर विरामी भएपछि उनलाई बुधबार कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

गत शुक्रबार राति नोबेल शिक्षण अस्पतालमा मोरङको सुन्दरहरैँचा नगरपालिका–७ घर भएका ३२ वर्षीय गोपाल भनिने जितप्रसाद सापकोटाको मृत्यु भएको थियो । सापकोटा लागुऔषध मुद्दाका बन्दी थिए ।

शरीर सुन्निने, सास फेर्न गाह्रो हुने समस्या देखिएपछि उनलाई उपचारका लागि असोज २७ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि कात्तिक ६ गते नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा कात्तिक ८ गते राति मृत्यु भएको थियो ।

मोरङ कारागारमा जिल्ला कारागार मोरङमा हाल १ हजार १ सय बढी कैदीबन्दी छन् । कारागार प्रशासनले उनीहरुलाई लागेको रोगको बारेमा स्पष्ट जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।