झापाको जंगलभित्र कसले लगायो कारमा आगो ?

विराटनगर । झापाको मेचीनगर नगरपालिकास्थित जंगलभित्र बिहीबार बिहान आगलागी भएको अवस्थामा एउटा कार फेला परेको छ ।

चारआली–भद्रपुर सडक खण्डमा पर्ने मेचीनगर नगरपालिका–१२ र १३ नम्बर वडाको सिमानामा रहेको निजा झोडाभित्र जलिरहेको अवस्थामा कार फेला परेको हो ।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार बिहान करिब ११ बजेतिर मुख्य सडकमा रहेको निजा झोडाको गेटदेखि करिब २ सय मिटरभित्र कार जलिरहेको खबर प्राप्त हुनासाथ दमकल र प्रहरी टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो । प्रहरी पुग्दा कार जलिरहेको अवस्थामा भेटिएको भएपनि कारसँग सम्बन्धित व्यक्तिहरु नभेटिएको बताइएको छ ।

घटनाको विषयमा हालसम्म केही नखुलेको डीएसपी खड्काले बताए । कार कसको हो र कहाँबाट ल्याएको भन्ने खुलेको छैन । कारको नम्बर पनि नखुलेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले कार आगलागीको घटना शंकास्पद रहेको भन्दै यसको रहस्य पत्ता लगाउन गहिरो अनुसन्धान गरिरहेको जनाएको छ ।

कार्तिक १३, २०८२, दिउँसोको ०३:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर