विराटनगर । जिल्ला अदालत मोरङमा जागिर लगाइदिने आकर्षक प्रलोभन देखाएर सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गर्ने एक संगठित गिरोह सक्रिय रहेको खुलासा भएको छ ।
पुनम देवी साह नामक महिलाको नेतृत्वमा रहेको उक्त गिरोहले अदालतको नक्कली कागजात तयार पारी कार्यालय सहयोगीदेखि नायब सुब्बासम्मका पदमा जागिर लगाइदिने भन्दै ठगी गरेको पाइएको हो ।
हालसम्म २७ जना पीडितले जिल्ला प्रहरी कार्यालय मोरङमा सामूहिक उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । ठगीको यो सञ्जालले पदअनुसार फरक–फरक रकम असुल्ने गरेको थियो । पीडितहरूका अनुसार कार्यालय सहयोगी पदका लागि आवेदन शुल्क भन्दै प्रतिव्यक्ति २ हजार ५ सय र नायब सुब्बाका लागि ७ हजार ५ सय रुपैयाँसम्म लिइएको थियो ।
विराटनगर–१२ बखरीकी एक पीडित निलम कुमारी चौधरीले आफूलाई कार्यालय सहयोगीमा जागिर लगाइदिने आश्वासनमा पुनमले २ हजार ५ सय रुपैयाँ लिएको बताइन् । “सुरुमा पत्यार लागेको थिएन, तर पुनमले मोरङ जिल्ला अदालतको नक्कली परिचयपत्र लगाएका अन्य ६–७ जनालाई जागिर लगाइदिएको फोटो पठाएपछि म विश्वासमा परें,’ चौधरीले भनिन्, ‘उनले भनेको मोबाइल नम्बरमा मैले इसेवामार्फत पैसा पठाएँ । तर, तीन महिना बितिसक्दा पनि कामबारे कुनै खबर नआएपछि अदालतमा बुझ्न जाँदा आफू ठगिएको थाहा पाएँ ।’ अदालत पुगेपछि आफूजस्तै अन्य धेरै जना सोही व्यक्तिबाट ठगिएको थाहा पाएपछि सामूहिक उजुरी दिएको उनले बताइन् ।
ठगी गर्ने गिरोहले मोरङ अदालतको नक्कली परिचय पत्र पनि बनाएको छ । उक्त परिचयपत्रमा प्रशासन अधिकृत भनेर केदार नाथ पौडेलको नाम उल्लेख गरिएको छ । ठगी गर्ने गिरोहले यही परिचय पत्र देखाउँदै आफुले थुप्रै व्यक्तिहरुलाई अदालतमा जागिर लगाइदिएको भन्दै सर्वसाधरणलाई देखाउँदै ठगी गरेको पाइएको छ ।

पुनम कुमारी साहले जागिरको प्रलोभनमा मात्र नभई अन्य विभिन्न बहानामा पनि ठगी गर्ने गरेको खुल्न आएको छ । केही महिनाअघि उनले विराटनगर–११ स्थित ‘झुम्का दरबार’ नामक पसलबाट भगवानका लागि भन्दै १६ हजार रुपैयाँ बराबरको गरगहना खरिद गरेकी थिइन् । नगद नभएको बहाना बनाउँदै दिएको चेक बाउन्स भएपछि पसलकी सञ्चालिका सम्झना दासले पनि उनीविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् ।
यस विषयमा मोरङ जिल्ला अदालतले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अदालतका सूचना अधिकारी हेम बहादुर बुढाथोकीले अदालतले कर्मचारी आवश्यकताको सूचना आफैँ प्रकाशन नगर्ने स्पष्ट पारे । ‘कर्मचारीको भर्ना प्रक्रिया लोकसेवा आयोगमार्फत हुन्छ, अदालतले सिधै जागिरमा लगाउन सक्दैन,’ उनले भने, ‘कसैले अदालतको नाम लिएर पैसा माग्छ भने त्यो सरासर ठगी हो । यस्तो कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन प्रहरीमा उजुरी दिन सबैलाई आग्रह गर्दछु ।’
जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) कोपिला चुडालले पीडितहरूबाट सामूहिक जाहेरी प्राप्त भइसकेको र घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको जानकारी दिइन् । ‘हामीले जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाएका छौं,’ उनले भनिन्, ‘ठगीमा संलग्नको खोजी कार्य तीव्र पारिएको छ ।’


