विराटनगर । भदौ २४ को हिंसात्मक प्रदर्शनपछि तोडफोड आगजनी र लुटपाट गरिएका भाटभटेनी सुपरमार्केटमा फेला परेका १२ जनाको अझै पहिचान खुलेको छैन ।
भाटभटेनीको काठमाडौं चुच्चेपाटी स्टोरमा भेटिएका ७, सुनसरीको धरान स्टोरमा भेटिएका ४ र विराटनगरको भाटभटेनी स्टोरमा भेटिएका १ जनाको सनाखत हुन नसककेको हो । ती शव डेढ महिनादेखि प्लाष्टिकमा पोको पारेर राखिएको छ ।
शवको दावी गर्न कोही नआएकोले पोस्टमार्टम र डीएनए परीक्षण भएको छैन । भाटभटेनीमा आगो निभेपछि खोजी गर्दाशरिर र कपडा सबै जलेको अवस्थामा कंकाल मात्र भेटिएको थियो । ती शवबारे दावी गर्न कोही पनि आफन्त पुगेका छैनन् भने त्यस समयमा मानिस हराएको उजुरी पनि प्रहरीमा परेको छैन ।
चुच्चेपाटीमा भेटिएका ७ वटा शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । धरान र विराटनगरमा भेटिएका ५ शवको डीएनए परीक्षण गर्न प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाइएको प्रहरीले जनाएको छ ।
उनीहरूको अस्थिपञ्जर मात्र फेला परेको र मृत्युको कारणसमेत खुल्न नसकेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले बताए । कंकालको डीएनए परीक्षण गर्न सकिन्छ कि भनेर प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाएकामा कुनै रिपोर्ट नआएको उनले बताए ।
पूर्णतः जलेका शवमाथिको दावी परिवार वा आफन्तले गर्नसक्ने स्थिति छैन । डिएनए परीक्षणबाट मात्र उनीहरुको पहिचान खुल्न सक्छ । सुनसरीको धरानमा भने एक जनाले आफन्त हराएको भन्दै खोजी गर्न निवेदन दिएका छन् ।
हराएका व्यक्तिको शव हो कि हैन यकिन भएको छैन ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले धरानमा फेला परेका चार वटा शवको पनि पहिचान हुन नसकेको बताए । एक जना हराएको भन्दै उजुरी परेको भएपनि डीएनए परीक्षणको रिपोर्ट आइनसकेकोले पुष्टि हुन नसकेको उनले बताए ।
भदौ २४ गतेको घटनामा व्यक्तिगत घर र निजी भवनमा जलेर देशभर २० जनाभन्दा बढीको मृत्यु भएकोमा अन्यको पहिचान खुलिसकेको छ । कोटेश्वर भाटभटेनी, ललितपुरस्थित एक निजी घर, काठमाडौं थानकोटस्थित एक निजी व्यापारिक भवन, कास्की र चितवनमा व्यक्तिका घर र भवनमा जलेर प्रर्दशनकारीको मृत्यु भएको थियो । व्यक्तिका घर तथा भवन जलाउने क्रममा ती घटना भएका प्रहरीले जनाएको छ ।


