विराटनगर राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातका कारण कोशी, मधेस र बागमती प्रदेशका २६ जिल्ला प्रभावित हुने बताएको छ ।

बिहीबारदेखि नेपाल प्रवेश गर्ने चक्रवातबाट कोशीको संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

मधेसका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरी प्रभावित हुने देखिएको छ भने बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली प्रभावित हुनेछन् । मोन्था चक्रवातका कारण कोशी र बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ भने कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको प्राधिकरणले जनाएको छ।

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण २०८२ कात्तिक १३ गते बिहीबार दिउँसोदेखि कात्तिक १५ गते शनिबार बिहानसम्म असर हुनेछ । मधेस र कोशी प्रदेशका धेरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेस र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको प्राधिकरणले जनाएके छ । गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सो अबधिमा बागमती, कमला, कोशी र कन्काई नदी तथा ती नदीका सहायक नदीमा बहाब उल्लेख्य बढ्ने अनुमान छ । सम्भावित वर्षा र हिमपातका कारण आकस्मिक बहाव, पहिरो लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रमा समेत प्रभाव पर्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्राधिकरणले सो अबधिमा अत्यन्त जरूरी नभई सकेसम्म यात्रा नगर्न, डुबान हुनेसक्ने बस्तीका बासिन्दा सुरक्षित स्थानमा सर्न, प्रभावित हुनसक्ने नदी किनाराका बासिन्दा सतर्क रहन, धान तथा अन्य बाली नकाट्न एवं काटेको भए तत्काल भित्र्याउन सुचित गरेको छ । यस्तै, प्रभावित हुनसक्ने जिल्लाका विपद् व्यवस्थापन समिति एवं सुरक्षा समितिले आवश्यकता अनुसार सवारी आवागमन बन्द गर्ने, तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक लगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी गर्ने, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समिति सतर्क रहने प्राधिकरकणले जनाएको छ ।

चक्रवात मोन्था मंगलबार राति भारतको आन्द्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सो अबधिमा हवाई तथ सडक सम्पर्क टुट्नसक्ने अनुमान छ ।