विराटनगर । सूर्य उपासनाको महापर्व छठको मुख्य दिन आज विराटनगरका विभिन्न खोला तथा नहर किनारमा श्रद्धालुहरूको घुइँचो लागेको छ । छठ पर्व मनाउनका लागि व्रत बसेका व्रतालुहरू पूजा सामग्रीसहित खोला र नहरका किनारमा भेला भएका छन् ।दिनभरि निराहार व्रत बसेका व्रतालुहरूले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदैछन् । विराटनगरको केसलिया, सिंघिया लगायतका खोला किनारमा बनाइएका घाटहरूमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ ।
परम्पराअनुसार आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुहरू रातभर जाग्राम बसी भजनकीर्तन गर्छन् ।भोलि, कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिवत् रूपमा समापन हुन्छ । पारिवारिक कल्याण, सन्तानसुख र मनोकामना पूरा हुने विश्वासका साथ छठ पर्व मनाइन्छ । पछिल्ला वर्षहरूमा छठ पर्वलाई सबै जातजाति र समुदायले साझा रूपमा मनाउन थालेका छन् ।












