काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिर अगाडि बाग्मती किनारमा रहेको गौरीघाटमा पुगेर छठी माताको पूजा आराधना गरेका छन् । उनीसँगै प्रथम महिला सविता पौडेलले पनि अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी थिइन् ।
प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वको अवसरमा राष्ट्रपतिले गुह्येश्वरीमा पूजा गर्ने परम्परा रहिआएको छ । यस वर्ष काठमाडौंका गुह्येश्वरी, कमलपोखरी, थापाथली लगायतका स्थानमा छठ पर्व भव्य रूपमा मनाइँदैछ ।
गुह्येश्वरीमा विगतभन्दा धेरै, ७०० भन्दा बढी छठघाट निर्माण गरिएको छ, जसका लागि भक्तजनबाट प्रतिघाट रु १५०० शुल्क लिइएको छ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुहरू रातभर जाग्राम बसी भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुनेछ । महाभारतकालमा द्रौपदीसहित पाण्डवले सूर्यको पूजा गरी अज्ञातवास सफल बनाएको विश्वासमा यो पर्व मनाउने गरिन्छ ।

