विराटनगर । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनमा अपराधिक गतिविधि गर्ने जो–कोही दण्डित हुने बताएका छन्।

काठमाडौँमा आयोजित एक कार्यक्रममा महानिरीक्षक खापुङले आन्दोलनको बहानामा अपराधिक कार्यहरु भएको उल्लेख गर्दै त्यसमा छुट नहुने स्पष्ट पारे ।

‘जेनजी आन्दोलनको बहानामा, त्यही परिस्थितिमा समाजलाई धमिल्याउन खोज्ने अपराधिक प्रवृत्तिहरु पनि चलखेल भएको देखिएको छ’ उनले भने, ‘त्यो अपराधिक कार्यमा संलग्नहरु दण्डित हुनुपर्छ ।’ अपराधिक काम गर्नेहरु क्रमशः दण्डित हुने भन्दै उनले त्यसमा सबैको साथ आवश्यक रहेको बताए ।

जेनजी आन्दोलनपछि प्रहरीहरुको मनोबल केहि कमजोर भएको भएपनि नागरिककाके सहयोगमा प्रहरी सक्रिय भइसकेको आइजीपी खापुङले बताए । ‘यो आन्दोलनपश्चात आम रुपमा प्रहरीको मनोबल खस्केको जस्तो पनि देखिएको थियो’ उनले भने, ‘तर, प्रहरीको मनोवल खस्कनुपर्ने कारण छैन, आम जनताको साथ प्रहरीले पाएको छ ।’

प्रहरीप्रति आम वर्गको अपेक्षा ठूलो रहेकोक भन्दै उनले कुनैपनि अपराधिक गतिविधिलाई रोक्न प्रहरी सक्षम हुनुपर्ने बताए । समाजलाई शान्ति सुरक्षा दिने दायित्वबाट नेपाल प्रहरी कहिल्यै पछि नपर्ने उनको भनाइ छ ।