विराटनगर । पछिल्लो समय ‘जेनजी आन्दोलन’का कारण पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभावले लगानीकर्ताहरूमा निराशा बढेको र केही ठूला होटलहरू बन्द हुने क्रम सुरु भएपछि सरकारले चिन्ता व्यक्त गरेको छ। यसै सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीले हायात रिजेन्सी होटलका सञ्चालकलाई फोन गरी निराश नहुन आग्रह गर्दै सरकारले सुरक्षाको पूर्ण प्रत्याभूति दिने आश्वासन दिएकी छन्।
अर्थमन्त्री रामेश्वर खनालले आज बिहान हायात रिजेन्सीको व्यवस्थापनसँग कुरा गर्दै होटल सञ्चालकहरूलाई नआत्तिन र उच्च मनोबलका साथ सेवा सुचारु गर्न आग्रह गरेका छन्। उनले सरकार सुरक्षाको पूर्ण प्रत्याभूति दिन प्रतिबद्ध रहेको बताउँदै होटल व्यवसायीहरूलाई विचलित नभई आफ्नो व्यवसायलाई निरन्तरता दिन आग्रह गरेका हुन् ।
गत भदौ २४ गते ‘जेनजी आन्दोलन’ का नाममा हायात होटल परिसरमा भएको तोडफोड र अराजक गतिविधिपछि होटल व्यवस्थापनले सेवा बन्द गरेको थियो। आन्दोलनका क्रममा भएको क्षति र सुरक्षाजन्य संवेदनशीलताका कारण होटल तत्काल सञ्चालन गर्न नसकिने भन्दै शुक्रबार जारी गरिएको सूचनामा उल्लेख छ। होटलका मानव संशाधन निर्देशक मोहम्मद यूसुफ चौधरीद्वारा जारी सूचनामा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सम्पूर्ण श्रमिकहरूलाई अर्को सूचना नआएसम्म होटल परिसरमा उपस्थित नहुन आग्रह गरिएको छ।
यस आन्दोलनले पर्यटन व्यवसायको मेरुदण्ड मानिने होटल उद्योगलाई नराम्ररी प्रभावित पारेको छ। व्यवसायी प्रबलजंग पाण्डेले पनि आफ्नो फेसबुक स्टाटसमा यस्तै निराशा व्यक्त गरेका छन् । उनले लेखेका छन्, “हायात होटल बन्द, हिल्टन होटल बन्द, पोखराका केही होटल बन्द, पर्यटक आगमन बन्द, आधा भन्दा बढी भाटभटेनी स्टोर बन्द, चन्द्रगिरी केबलकार बन्द।” उनले धेरै कलकारखानाहरू माग कम भएर पहिले नै बन्द भएको र ३० ठूला उद्योगको विद्युत महसुल विवादका कारण प्राधिकरणले लाइन काटेर बन्द गरेको समेत उल्लेख गरेका छन्। पाण्डेको भनाइले देशको समग्र आर्थिक गतिविधिमा आएको सुस्तता र विशेषगरी पर्यटन क्षेत्रमा देखिएको संकटलाई उजागर गरेको छ । जसले नेपालमा लगानीको वातावरण नभएको र लगानीकर्ताहरु पनि निराश भइरहेको सन्देश दिएको छ ।
यस आन्दोलनले काठमाडौं उपत्यका र पोखरा जस्ता प्रमुख पर्यटकीय गन्तव्यहरूलाई बढी प्रभावित गरेको छ। होटल तथा रिसोर्टहरूमा आगजनी र तोडफोडका घटनाहरूले पर्यटक आगमनमा ठूलो गिरावट आएको छ, जसले गर्दा पर्यटनमा आधारित हजारौं रोजगारीहरू जोखिममा परेका छन्। पर्यटन व्यवसायका लागि नयाँ लगानीको वातावरण पनि प्रतिकूल बन्दै गएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार यसबारे आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गर्ने र आवश्यक पहल गर्ने बताइएको छ। सरकारको यो कदमले पर्यटन क्षेत्रमा देखिएको निराशालाई केही हदसम्म कम गर्न सक्ने र लगानीकर्ताहरूमा विश्वास जगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


