विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।
असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको शुक्रबार जंगलभित्र विभत्स अवस्थामा शव भेटिएको हो ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार लेटाङ–२ स्थित बेलबारी–चिसाङ साझेदारी वनभित्र शव भेटिएको हो । लेटाङ र बेलबारीको सिमानामा पर्छ बन क्षेत्रमा भेटिएको शव विभत्स रहेको स्थानीयले बताएका छन् ।
घटनास्थल वरिपरि अंशुले लगाएको ट्राउजर र हाफपाइन्ट फुकालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । कपडा शवको नजिकै फेला परेकाले बलात्कारपछि उनको हत्या गरिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
बालिकाको शवको टाउको र शरीर छुट्टिएको अवस्थामा रहेको देखिएको प्रहरीले जनाएको छ । घटना भएको धेरै दिन भएकोले शव सडेर दुर्गन्धित अवस्थामा फेला परेको एसपी कटवालले जानकारी दिए । घाँस काट्न गएका स्थानीयले शव देखेपछि शुक्रबार दिउँसो प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घटनाको अनुसन्धानका लागि एसपी कटवाल आफैं घटनास्थल पुगेका छन् । अंशु असोज २१ गते दिउँसो ४ः३० बजेतिर घरबाटै सम्पर्कविहीन बनेको बताइएको छ । छोरी बेपत्ता भएपछि अभिभावकले खोजीमा सहयोग गरिदिन प्रहरी लगायतका सरोकारवालालाई आग्रह गरेका थिए । उनको खोजी भएपनि कुनै सुराक फेला पर्न सकेको थिएन ।
‘शवको अवस्था हेर्दा कुनै धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हुनसक्ने आशंका छ’ एसपी कटवालले भने, ‘जंगली जनावरले आक्रमण गर्दा ज्यान गएको पनि हुनसक्छ । विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’ उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट यौनजन्य अपराध हो कि जंगली जनावरले आक्रमण गरेको हो भनेर यकिन भने भइसकको छैन ।
लेटाङ–२ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनाका अनुसार अंशु लक्ष्मी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत थिइन् । बालिकाको मृत्युको खबरले सिंगो गाउँ स्तब्ध एवं त्रसित बनेको उनले बताए ।

विभत्स अवस्थामा शव फेला परेकाले बालिकाको हत्या नै भएको बताउँदै स्थानीयले दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । वडाध्यक्ष तिम्सिनाले पनि घटनाको प्रकृति हेर्दा बालिकाको हत्या नै भएको अनुमान गरिएको बताए ।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर बालिकाको शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि र थप अनुसन्धान अघि बढाएपछि मृत्युको कारण स्पष्ट हुने एसपी कटवालले बताए ।
प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर घटनासँग सम्बन्धित प्रमाण संकलन गरेको छ । प्रहरीले वरपर बस्तीका केही व्यक्तिहरूमाथि सोधपुछ पनि गरिरहेको जनाएको छ ।


