किन आत्मदाह गरिन् गायिका नितु पौडेलले ? गायक गिरी प्रहरी हिरासतमा

विराटनगर । आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पौडेलको कीर्तिपुर वर्न हस्पिटलमा शुक्रबार विहान उनको मृत्यु भएको हो ।

कात्तिक १ गते शनिबार पौडेलले अनामनगरस्थित गायक बाबुल गिरीको गीत रेकर्डिङ स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि कीर्तिपुर वर्न अस्पताल लगिएको थियो ।

घटनामा प्रहरीले यसअघि गायक बाबुल गिरीलाई बोलाएर सोधपुछ गरेको थियो । पौडेलको मृत्यु भएपछि उनका दाइ गणेश पौडेल जाहेरी लिएर प्रहरी कार्यालय पुगेका छन् । गायक बाबुल गिरीविरुद्ध जाहेरी प्रहरी वृत्त सिंहदरबारमा पुगेको हो ।

अब जाहेरी दर्ता गरेर गायक गिरीमाथि अनुसन्धान अघि बढाउनुपर्ने परिवारले जनाएको छ । गणेशले आफ्नो बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यानको कसुरमा जाहेरी दिएका हुन् ।

विगत ८–९ वर्षदेखि नितु र गिरी प्रेम सम्बन्धमा रहेको बताइएको छ । दुई जनामात्रै भएको कोठाभित्र नितुलाई जलाइएको परिवारको आरोप छ । गिरीले भने स्टुडियोमा गएर शरीरमा पेट्रोल छर्केर गायिका पौडेलले आत्मदाहको प्रयास गरेको बताएका छन् ।

बाबुलको स्टुडियोको तलपट्टी नितुको डुर्बिना क्याफे छ । चिया पसल चलाउनेदेखि उनले संगीत करिअरलाई पनि अघि बढाउँदै आएकी थिइन् । उनीहरूको प्रेम सम्बन्धबारे पछिल्लो समय संगीत क्षेत्रका अधिकांश जानकार रहेको बताइन्छ ।

पारिवारिक स्रोतका अनुसार ६ महिनायता उनीहरूबीच विवाहलाई लिएर झगडा हुँदै आएको थियो । विवाहलाई लिएर दिनहुँ झगडा हुन थालेपछि बाबुलले नितुसँग विवाह नगर्ने बताउन थालेको स्रोत बताउँछ । त्यसपछि नितु तनाबमा रहेको बताइन्छ ।

गायिका पौडेलले आत्मदाहको प्रयास गर्नुको कारण खुलेको छैन । यो विषय अनुसन्धानकै क्रममा रहेको प्रहरीले बताएको छ । पौडेलले आफ्नो शरीरमा आगो लगाएपछि निभाउने प्रयास गर्दा आफू समेत सामान्य घाइते भएको गिरीले प्रहरीसमक्ष बताएका छन् ।

विवाहको विषयमा विवाद भएपछि पौडेलले आत्मदाहको प्रयास गरेको स्रोतको दावी छ । अहिले जाहेरी दर्ता भएकोले थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं एसपी पवन भट्टराईले जानकारी दिए । त्यसअघि नै प्रहरी कार्यालय पुगेका आरोपी गिरीलाइए प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।

कार्तिक ७, २०८२, साँझको ०५:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर