विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ बाट प्रहरीले लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित एक जनालाई पक्राउ गरेको छ ।
झापाको गौरादह नगरपालिका–६ का ४३ वर्षीय मोहनसिंह बारहीलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिएकी छन् ।
गौरादह घर भएका बारही उर्लाबारी–७ का गोरख खड्काको घरमा डेरा बस्दै आएका थिए । डेरामा बसेर लागुऔषधको कारोबार गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले बिहीबार राति ९ः३० बजेतिर बारहीको कोठामा छापा हानेको थियो ।
उनको कोठाबाट १७ ग्राम ८ सय ९० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको लागुऔषधसहित बारहीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखिएको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउनलाई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


