विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको फ्रेन्चाइज टोली चितवन रायनोजले हालै ‘चितवन रायनोज मिट’ कार्यक्रम गरेको छ ।
एनपीएल ट्रफी टुरको मुख्य आकर्षणका रूपमा आयोजित कार्यक्रमले स्थानीय सहभागिता, क्रिकेट प्रवर्धन र समुदायस्तरमा खेलको जग बलियो बनाउने प्रयासहरूलाई उत्सवको रूपमा मनाएको छ। ‘क्रिकेट, समुदाय र संरक्षण’ भन्ने तीन सन्देशमा केन्द्रित यस कार्यक्रममा क्रिकेटप्रेमी, समर्थक र स्थानीय समुदायबीचको उत्साह स्पष्ट रूपमा झल्किएको थियो।
यस कार्यक्रमका प्रमुख आकर्षणहरूमध्ये एक थियो एनपीएल सिजन २ का लागि तीन अन्तर्राष्ट्रिय स्टार खेलाडीहरूको घोषणा, जसले चितवन रायनोजलाई उपाधिको बलियो दाबेदार बनाएको छ। इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी डेविड मलान, जसले १० हजारभन्दा बढी टि–२० रन बनाएका छन्, पूर्व टि–२० विश्व नम्बर–१ ब्याटर हुन् र सन् २०२२ को टि–२० विश्वकप विजेता पनि हुन् । उनको आगमनले रायनोजमा नयाँ ऊर्जा र जितको विश्वास थपेको छ।
सिजन १ मा रायनोजका लागि सर्वाधिक २८६ रन बनाउँदै टोलीलाई प्लेअफसम्म पुऱ्याएका रवि बोपाराको क्लासिक ब्याटिङ शैलीले चितवनका फ्यानहरूलाई होहित पारेको छ भने अघिल्लो सिजनमा १४ विकेटसहित रायनोजका प्रमुख बलर बनेका पाकिस्तानका अनुभवी खेलाडी सोहेल तनभिरले यस सिजनमा पनि बलिङ आक्रमणको नेतृत्व गर्नेछन् ।
कार्यक्रममा ‘फेस अफ द रायनोज’ को पनि अनावरण गरियो, जसमा रायनोजले यस सिजनका लागि आफ्ना आधिकारिक प्रतिनिधिहरूको रूपमा तीन व्यक्तित्वहरूलाई सार्वजनिक गरेको छ। यस घोषणाले खेलकुदमा समावेशिता र महिला सशक्तीकरणप्रति रायनोजको प्रतिबद्धता झल्काउँछ। नेपाल महिला क्रिकेट टिमकी कप्तान इन्दु बरमालाई सिजन २ का लागि ‘फेस अफ द रायनोज’ घोषित गरिएको छ। साथै, बागमती प्रदेशकी ओपनर तथा चितवन महिला क्रिकेटकी उदीयमान स्टार हेलिशा गुरुङ, जसले स्थानीय स्तरमा महिला क्रिकेटको पहिचान बढाउन योगदान पुऱ्याउँदै छिन्, र चर्चित मोडल, अभिनेत्री एवं पूर्व मिस इन्टरनेशनल नेपाल २०१७ नीति शाह, जसले मनोरञ्जन र क्रिकेटलाई जोड्ने काम गरेकी छन्, पनि यस कार्यक्रममा सामेल थिए।
कार्यक्रम अन्तर्गत, क्याम्पाचौरदेखि आपतारी, पुलचोक, गोंद्राङ हुँदै सौराहा सम्मको बाइकर्याली ‘राइड फर रायनोज’ मा सयौँ फ्यान र समुदायका सदस्यहरूको सहभागिता रह्यो । राइनो संरक्षणको सन्देशसहित भएको यो र्यालीले एनपीएल र चितवन रायनोजप्रति स्थानीय उत्साहको झल्को दिएको थियो।
चितवनमा क्रिकेटको जगलाई थप बलियो बनाउन रायनोजले “ट्यालेन्ट हन्ट” कार्यक्रमको पनि घोषणा गरेको छ। कार्तिक २४ र २५ (नोभेम्बर १० र ११) मा आयोजना हुने यो कार्यक्रममा चितवनका प्रतिभावान युवा खेलाडीहरूलाई छनोट गरी व्यावसायिक क्रिकेटमा प्रवेशको अवसर दिइनेछ।
चितवन रायनोजका प्रो. डा. हरीश चन्द्र न्यौपानेले क्रिकेट नेपालमा खुशीको कारण बनेको उल्लेख गर्दै एनपीएलको दोस्रो सिजनलाई अझ भव्य बनाउने प्रयास भइरहेको र आजको घोषणा चितवन रायनोजलाई विश्वस्तरमा उत्कृष्ट फ्रेन्चाइजका रूपमा स्थापित गर्ने यात्राको अर्को कदम भएको बताए । प्रमुख कार्यकारी अधिकृत डा. आशिष खड्काले ट्रफी टुरप्रति देखिएको प्रतिक्रिया उत्साहजनक रहेको र ‘फेस अफ रायनोज’ तथा खेलाडी घोषणा कार्यक्रमले यस सिजनलाई थप विशेष बनाएको बताए । निर्देशक प्रताप देवकोटाले टोलीभित्रको आपसी सम्बन्ध र समर्पणलाई बलियो पक्षका रूपमा औंल्याउँदै यसपटक उपाधि चितवन ल्याउनेमा विश्वास व्यक्त गरे।