उत्पादन घटेको र भारतीय आयात रोकिएको कारण फूलको मूल्यमा वृद्धि

विराटनगर । पूर्वी पहाडी जिल्लामा यो वर्ष सयपत्री र मखमली फूलको उत्पादनमा कमी आएको छ। आन्तरिक उत्पादनमा कमी आएको वर्ष भारतीय फूल आयातमा पनि रोक लगाएको कारण यसपालिको तिहारमा धरानमा सयपत्री र मखमली फूलको मूल्य दोब्बर बढेको छ।

पूर्वी पहाडी जिल्लाहरूमा सयपत्री उत्पादन घटेपछि मागअनुसार आपूर्ति नहुँदा बजारमा फूलको अभाव देखिएको छ। सुनसरीको धरानस्थित धरान कृषि थोक बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार पोहोरको तिहारमा करिब ४ लाख माला सयपत्री भित्रिएकोमा यो वर्ष १ लाख माला मात्र गर्ने अनुमान गरिएको छ।

असिना पानी, अत्यधिक वर्षा र तिहार छिटो परेको कारण सयपत्री समयमा नफुल्दा आपूर्तिमा कमी आएको हो । भारतबाट फूल आयात रोकिएपछि धरानमा फूलको हाहाकार भएको छ।

धरानमा सयपत्री फूल धनकुटा, तेह्रथुम, धरानकै पाँचकन्या, पानमारा, साउने, विष्णुपादुका र मोरङको केराबारीबाट आउने गरेको छ। तर, ती स्थानहरूमा उत्पादन घटेकाले आपूर्तिमा ठूलो कमी आएको हो।

पूर्वका बजारमा फूल खोज्नका लागि भीड देखिएको छ । फूल व्यापारी राजेश विकका अनुसार अहिले फूल पाउनु निकै कठिन छ। धनकुटाको हिलेमा खोज्दा खोज्दा बल्ल २०० गुच्छा फूल भेटिएको र बोटमै प्रति गुच्छा १८० रुपैयाँमा खरिद गर्नु परेको उनले बताए। “प्रति गुच्छा २० रुपैयाँ मात्र नाफा राखी २०० मा बिक्री गर्दैछु,” उनले भने।

धरान–१० राँगा चोकका आशिष विकले पनि हिलेबाट ल्याएको सयपत्री प्रति गुच्छा २ सय रुपैयाँमा बेचिरहेका छन्। त्यस्तै, व्यापारी रामचन्द्र चौधरीले काठमाडौँबाट ल्याएको मखमली माला प्रति गोटा १ सय रुपैयाँमा बेच्दै थिए। उनका अनुसार सयपत्रीको तुलनामा मखमली केही सस्तो छ।

धनकुटा महाभारतका किसान गङ्गाबहादुर राईले बारीको फूल ५ हजार रुपैयाँमा बिक्री गरेको बताए। “तिहार छिटो परेकाले फूल फुल्न पाएन,” उनले भने, “बोट त छ, तर कोपिला मात्रै लागेको छ, त्यसैले यसपालि फूल कम भएकोले आम्दानी घटेको छ।” उत्पादन घटेकाले मूल्य भने दोब्बर पुगेको उनको भनाइ छ ।

कृषि बजार व्यवस्थापक भट्टराईका अनुसार अघिल्लो वर्षको तुलनामा यसपालि सयपत्री फूलको आपूर्ति करिब ७५ प्रतिशतले घटेको छ। फूल नपाएर धरान र वरपरका बजारमा मखमली र सयपत्रीका माला गत वर्षको तुलनामा दोब्बर मूल्यमा बिक्री भइरहेका छन्।

धरान–१२ चतरालाईनस्थित केही व्यापारीले लुकाएर भारतीय फुल बिक्री गरिरहेका छन्। यस अघि विराटनगरमा प्रहरीले बरामद गरेको भारतीय फुल नष्ट गरेको थियो।

क्वारेन्टाइन चेक जाँच नगरी फुल नेपाल आयात गर्न प्रतिबन्धित छ। भारतीय फूलमा विषादीको मात्रा उच्च हुने गरेको बताइन्छ।

कार्तिक ४, २०८२, दिउँसोको ०४:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर