विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलमा सोमबार साँझ ३२ बर्षिय एक पुरुषको गोप्य अंगमा एक महिलाले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाईते भएका छन् ।
महिला साथीलाई भेट्न गएका ३२ वर्षीय कामत थरका पुरुषको लिंग महिलाले काटिदिएको मोरङ प्रहरीले जनाएको छ ।
लिंग काटिएका पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । धारिलो हतियारले प्रहार गरिएका कारण अंगमा गम्भीर चोट रहेको अस्पतालले जनाएको छ । घाइते पुरुषको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सुरुमा ती पुरुषलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल रेफर गरिएको हो । पुरुषको घर जहदा गाउँपालिका– ३ मा रहेको बुझिएको छ । उनको घरमा श्रीमती र ३ जना सन्तान छन् ।
महिला कटहरीको आदर्श टोलमा डेरा बस्दै आएकी थिइन् । प्रहरीले पाएको जानकारी अनुसार डेरामा बस्दै आएकी महिलालाई भेट्न ती पुरुष बेलाबखत आउने गरेका थिए । सोमबार पनि भेट्न पुगेका पुरुषसँग ती महिलाको विवाद हुँदा घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार महिलाले ती पुरुषको लिंगमा दाउले प्रहार गरेकी हुन् ।घटनापछि ती महिला पनि बेहोस भएकी थिइन् । उनलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो । होस फर्किएर अवस्था सामान्य बनेपछि महिलालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिइन् ।