विराटनगर । ‘जेन्जी आन्दोलन’का क्रममा नेपाल प्रहरीको हतियार लुट्ने घटनामा संलग्न एक युवकसहित ८ जना झापाबाट पक्राउ परेका छन् ।
प्रहरीले उनीहरुलाई लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले शनिबार साँझ दमक नगरपालिका–३ भुटानी शरणार्थी शिविर, सेक्टर–१ स्थित एक छाप्रोबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । लागुऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी पुगेको थियो ।
प्रहरीका अनुसार खानतलासीका क्रममा ७ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । पक्राउ पर्नेमध्ये दमक ३ का १८ वर्षीय आदित्य लिम्बू ‘जेन्जी आन्दोलन’का क्रममा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुट्ने घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ ।
लिम्बूले भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुटेर भिडियो बनाएका थिए । उनले प्रहरीको हतियार बोकेर फोटो खिचेको फोटो भाइरल बनेको थियो ।
पक्राउ परेका अर्का व्यक्ति मोरङ मिक्लाजुङ–८ का निश्चल पोर्तेल गत भदौ २४ गते उर्लाबारी प्रहरी हिरासतबाट फरार भएका थिए । पक्राउ परेका अन्य व्यक्तिहरूमा २७ वषीृय साजन थापा, ३२ वर्षीय दिपेश तामाङ, ३२ वर्षीय सनम राई, १९ वर्षीय पविन विश्वकर्मा, २५ वर्षीय सुचन दर्जी र २५ वर्षीय विजय माझी छन् ।
प्रहरीले उनीहरूविरुद्ध लागुऔषध मुद्दामा अनुसन्धान अगाडि बढाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर कारबाही अघि बढाइएको छ ।