विराटनगरमा चौथो म्यूजिक फेस्टिभलको तयारी, राष्ट्रिय कलाकारदेखि स्थानीय प्रतिभासम्मको भव्य जमघट

विराटनगर । चौथो संस्करणको विराटनगर म्यूजिक फेस्टिभलको तयारी तीव्र गतिमा अघि बढेको छ । लाइभ इन्टरटेन्टमेन्टको आयोजनामा दीपावलीको शुभ अवसर पारेर यही असोज ३१ गते शुक्रबार चौथो संस्करणको ‘विराटनगर म्यूजिक फेस्टिभल’ आयोजना हुने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले फेस्टिभलको तयारी तीव्र रुपमा अघि बढको जानकारी दिएको हो ।

कार्यक्रमका व्यवस्थापक तथा संयोजक सन्तोष महत (स्यान्ट्रो) का अनुसार यस पटकको फेस्टिभल विगतका संस्करणभन्दा अझ भव्य र परिष्कृत हुनेछ । फेस्टिभलमा राष्ट्रिय स्तरमा ख्याति कमाएका कलाकारहरूको दमदार प्रस्तुति रहनेछ, जसले विराटनगरका संगीतप्रेमीहरूलाई भरपुर मनोरञ्जन प्रदान गर्नेछ । युवा पुस्तामाझ अत्यन्तै लोकप्रिय गायक तथा ब्यान्ड ‘स्वर’ र ‘पूर्ण राइ एण्ड दाजुभाइहरु’ को सांगीतिक प्रस्तुति कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहनेछ ।

यस वर्षको फेस्टिभलको अर्को महत्वपूर्ण पक्ष भनेको विराटनगरको आफ्नै गौरव, ‘द स्मृति ब्याण्ड’ को विशेष प्रस्तुति हो । आफ्नो सांगीतिक यात्राको २५ औं वर्षगाँठ मनाइरहेको अवसरमा ब्याण्डले विशेष प्रस्तुति दिनेछ । यही अवसरमा ‘द स्मृति ब्याण्ड’ लाई सम्मान गरिने कार्यक्रम रहेको संयोजक महतले जानकारी दिए । यो सम्मान विराटनगरको सांगीतिक क्षेत्रमा ब्याण्डले पु¥याएको योगदानको कदर हो ।

फेस्टिभलमा ‘सुभम एण्ड द ब्यान्ड’ ले पनि आफ्नो सांगीतिक प्रस्तुतिले दर्शकलाई झुमाउनेछ । साथै, विराटनगरका स्थानीय डान्स क्लबहरूले पनि आफ्नो नृत्य कला प्रस्तुत गर्नेछन्, जसले कार्यक्रममा स्थानीय प्रतिभालाई पनि प्रोत्साहन मिल्नेछ ।
संयोजक महतले भने, “विराटनगरमा लगातार हुँदै आएको म्यूजिक फेस्टिभल यो छुट्टै र फरक रुपमा हुने गरेको छ । हामीले अन्तर्राष्ट्रिय स्तरको आधुनिक साउण्ड सिस्टमहरुको व्यवस्था गरेका छौं । जहाँ निर्धक्क भएर कलाकारहरुले आफ्नो सांगीतिक प्रस्तुति गरेर सहभागी दर्शक, श्रोताहरुलाई मन्त्रमुग्ध बनाउनेछन् ।’ उनले चौथो संस्करणको कार्यक्रम पनि भव्य र सभ्य रुपमा सम्पन्न हुनेमा विश्वस्त रहेको बताए ।

विराटनगरको जैन भवनमा आयोजना हुने यस भव्य सांगीतिक कार्यक्रम सम्पन्न गर्न करिब २० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । संगीत, संस्कृति र मनोरञ्जनको यो त्रिवेणीले विराटनगरको दीपावलीलाई थप उल्लासमय बनाउने अपेक्षा गरिएको छ ।

अशोज २३, २०८२, दिउँसोको ०३:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर