कटहरीको महेशपुरमा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ महेशपुरमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बिहीबार बिहानका राति ३ जना सवार मोटरसाइकल दुर्घटनामा परेको छ । दुर्घटनामा मोटरसाइकल चालक विराटनगर –६ का ३५ वर्षीय हरिओम राजवंशीको मृत्यु भएको हो ।

गम्भीर घाइते उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

घाइते भएका अन्य दुई जनालाई कोशीबाट थप उपचारका लागि विराट नर्सिङ होम रेफर गरिएको छ । घाइते दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०४–००२ प ०४६४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर राति १ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा ३ जना घाइते भएका थिए ।

ट्राफिक नियम उल्लंघन गर्दै ३ जना चढेर कुदाइएको मोटरसाइकल तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

अशोज २३, २०८२, दिउँसोको ०३:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर