मेला घुम्न गएकी बालिकालाई बलात्कार गर्ने तीन पक्राउ

विराटनगर । दसैँको टिकाको दिन सुनसरीको बर्जु गाउँपालिका ६ मा १३ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ ।

प्रहरीले बलात्कारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

स्थानीय चिमडी मेला घुम्न गएको बेला बालिकामाथि बर्जु गाउँपालिका ६ स्थित चन्दा मोहन बाँधमा बलात्कार भएको हो । ४–५ जना युवकहरूले बालिकामाथि जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले बर्जु गाउँपालिका ६ का २१ वर्षीय बुधनारायण चौधरी, विजय साह र अर्का एक १५ वर्षीय एक बालकलाई पक्राउ गरेको छ । विजया दशमीको दिन राति १० बजे उक्त समूहले बालिकामाथि जबरजस्ती करणी गरेको सूचना इलाका प्रहरी कार्यालय चिमडीमा आएपछि प्रहरी टोली घटनास्थल पुगेर बालिकालाई उद्धार गरी नोबेल अस्पताल विराटनगर पठाएको थियो ।

बालिकाको नोबेलपछि हाल कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा दुहबीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा प्रहरी टोली खटिएर तीन जनालाई पक्राउ गरेको हो । पीडित बालिका र घटना सम्बन्धमा थाहा पाउने मानिसहरूले खुलाई दिएको हुलिया र प्राविधिक विश्लेषणको आधारमा अप्रेसन चलाएर उनीहरूलाई पक्राउ गरिएको हो ।

घटना भएको तीन दिनपछि गत शनिबार उनीहरु पक्राउ परेका हुन् । घटनामा संलग्न अन्य आरोपीको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान गर्न मङ्गलबार जिल्ला अदालत सुनसरीबाट ५ दिनको म्याद थप गरेको छ ।

अशोज २३, २०८२, बिहानको ११:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर