विराटनगर । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट आजदेखि शुरू हुँदै छ ।

ओमानमा हुने खेलमा आफूभन्दा निकै बलियो टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेर हौसिएको नेपाली क्रिकेट टोलीले आजै कुवेतको सामना गर्नेछ । नेपालले दोस्रो खेलमा शुक्रबार जापानको सामना गर्नेछ । नेपाललाई प्रतियोगिताको दाबेदारका रुपमा हेरिएको छ ।

आगामी विश्वकपमा स्थान सुरक्षित गर्न नेपालले पनि यही खुड्किलो पार गर्नुपर्ने हुन्छ । ९ राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष ३ टोलीले फेब्रुअरी–मार्चमा हुने टी–२० विश्वकपमा स्थान बनाउने छ । विश्वकप भारत र श्रीलंकामा आयोजना हुनेछ ।

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । उक्त समूहमा नेपालका अतिरिक्त जापान र कुवेत छन् । तीनवटै टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन् । समूह ‘ए’ मा मलेसिया, कतार यूएई तथा समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोओ छन् ।

समूहगत चरणको खेलपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको ‘सुपर–६’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर–६’ चरणमा प्रत्येक टोलीले चार–चार खेल खेल्नेछन् । एउटै समूहबाट आएका दुई टोलीबीच भने ‘सुपर–६’ चरणमा भिडन्त हुनेछैन ।

त्यसपछि ‘सुपर–६’ चरणको अंक तालिकामा पहिलो, दोस्रो र तेस्रो स्थानमा रहने तीनवटा टोली सन् २०२६ मा आयोजना हुने आईसीसी टी–२० विश्वकपमा छनोट हुनेछन् । तालिकाको चौथोदेखि छैटौं स्थानसम्म आउने टोलीको भने विश्वकप खेल्ने सपना समाप्त हुनेछ ।