ताप्लेजुङ । पाँचथरको थर्पुबाट ताप्लेजुङतर्फ जाँदै गरेको बोलेरो गाडी ताप्लेजुङको आङ्खोपमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सिदिङवा गाउँपालिका–३ आङ्खोपका ६० वर्षीय लोक बहादुर कुँवरको घटनास्थलमै मृत्यु भएको हो। गाडी आङ्खोप नजिकैको भीरमा अनियन्त्रित भई दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा सोही ठाउँका ६० वर्षीय लोक बहादुर चौहान गम्भीर घाइते भएका छन्। उनको टाउको पछाडि, घाँटी र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। त्यस्तै, ४५ वर्षीय प्रकाश चौहानको टाउको र ढाडमा गम्भीर चोट लागेको छ।
यस्तै, ३० वर्षीया शृजना चौहानको ढाडमा चोट लागेर अवस्था मध्यम रहेको जनाइएको छ भने ४ वर्षका प्रियांस चौहान बायाँ टाउको र ढाडमा घाइते भएका छन्। चालक ४० वर्षीय प्रकाश सुवाङको बायाँ खुट्टामा सामान्य चोट लागेको छ। ३ वर्षीया प्रियांसा चौहान पनि ढाडमा सामान्य चोटसहित घाइते रहेको प्रहरीले जनाएको छ।
घाइते सबै जनालाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पुर्याइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। दुर्घटनाको विस्तृत कारण खुल्न बाँकी रहेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।