विराटनगर । पहिरोको कारण सडक अबरुद्ध भएपछि पाँचथर, इलाम र संखुवासभाका चार जना गर्भवती महिलाको नेपाली सेनाले हेलिकप्टरमार्फत् उद्धार गरेको छ।
नेपाली सेनाका अनुसार सोमबार उनीहरुको उद्धार गरि झापा र मोरङका अस्पताल भर्ना गरिएको छ ।
इलामको माइजोगमाई ५ सिरसिरेबाट विद्या राई र सन्दकपुर १ छाँगेबाट कमलादेवी राईको उद्धार भएको हो । उनीहरुलाई बिएण्डसी अस्पताल विर्तामोडमा भर्ना गरिएको ईलामको रणशार्दुल गणका गणपति प्रल्हाद घलेले जानकारी दिएका छन् ।
यस्तै, पाँचथरको फिदिम नगरपालिका– १२ पुल भञ्ज्याङबाट लिम्सा लिम्बूको पनि सेनाकै हेलिकप्टरले उद्धार गरेको छ । उता संखुवासभाको भोटखोला गाउँपालिका, ३ हुङगुङबाट छिटेक भोटेको उद्धार भएको छ ।
उद्धार गरिएकाहरुलाई झापाको विर्तामोड स्थित बिएन्डसी अस्पताल र कोशी अस्पताल विराटनगरमा भर्ना गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाहरूको लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रम अन्तर्गत सेनाले उद्धार गरेको हो ।
नेपाली सेनाले कोशी प्रदेशका बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टरको प्रयोग गर्दै आएको छ । सोमबार सेनाको हेलिकप्टरले इलाममा पहिरोमा परेर घाईते भएकाहरुको पनि उद्धार गरेको छ ।