विराटनगर । दुई दिनदेखिको लगातारको वर्षापछि आएको बाढी पहिरोको कारण इलाममा ज्यान गुमाउनेको संख्या २८ पुगेको छ।
इलामका ६ वटा पालिकामा गएको बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सूर्योदय नगरपालिका-१ मा पाँच जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। त्यस्तै, इलाम नगरपालिका-६ मा ६ जनाको मृत्यु भएको छ।
देउमाइ नगरपालिकामा दुई जना, खापखुकपुङ गाउँपालिकामा एक जना, माङ्सेबुङका तीन जना र माइजोकमाइ गाउँपालिकामा आठ जनाको मृत्यु भएको डिएसपी थापाले बताए। सन्दकपुर गाउँपालिकाका तीन जनाको मृत्यु भएको हो
।
माङ्सेबुङबाट नेपाली सेनाले दुई जनाको हेलिकप्टरबाट उद्धार गरेको छ। एक जना पुरूष र एक जना गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरी विराटनगरस्थित अस्पताल पठाइएको छ।
विभिन्न स्थानमा गएको पहिरोले इलाममा मात्रै १२ जनाभन्दा धेरै बेपत्ता भएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताएकी छन् । उनका अनुसार पहिरोले दर्जनौं घरमा क्षति पुर्याएको छ ।