शुक्रबारदेखि देशभर भारी वर्षाको सम्भावना

विराटनगर । जल तथा मौसम विज्ञान विभागले नेपालमा असोज १७ गते शुक्रबारदेखि देशका धेरैजसो भूभागमा वर्षा हुने सम्भावना रहेको जनाएको छ । 

विभागको मौसम पूर्वानुमान महाशाखाले असोज १७ गतेदेखि भारीदेखि अति भारी वर्षाको चेतावनी दिएको हो । दशैंको टीकाको भोलिपल्टदेखि भारी वर्षा हुने महाशाखाको पूर्व अनुमान छ।

महाशाखाका अनुसार, नेपालमा हाल मनसुन वायुको प्रभाव केही कमजोर रहेपनि बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली भारतको ओडीसाबाट मध्य भारततर्फ सर्ने क्रममा छ । सोही प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गरी असोज १७ गतेबाट देशका कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना छ ।

कुन दिनको मौसम कस्तो ?
असोज १७ गते (शुक्रबार) : कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, यी चार प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

असोज १८ गते (शनिबार) : कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । यी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

असोज १९ गते (आईतबार) : यस दिन कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा वर्षाको मात्रा उच्च हुनेछ । यी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा र एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ । बाँकी प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाले दसैँ अवधिभर मनसुन सक्रिय भई वर्षा हुने सम्भावनाले गर्दा भूक्षय, बाढी, पहिरोको जोखिम बढ्ने बताएको छ । साथै, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले यात्रा तथा अन्य योजना बनाउँदा मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

अशोज १५, २०८२, साँझको ०७:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर