टी-२०आई सिरिजमा वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जीत

विराटनगर । लगातार दोस्रो जितसंगै नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई सिरिजको उपाधी जितेको छ ।

भर्खरै सकिएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनले हराउँदै नेपालले ३ खेलको टी-२०आई सिरिज आफ्नो पक्षमा पारेको हो ।

यूएईमा जारी युनिटी कप टी-२०आई शृंखला एक खेल अगावै नेपालले जितेको हो । नेपालले दिएको १७४ रनको बलियो लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भयो ।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए । वेस्ट इन्डिजको खेल फितलो देखिएको थियो।

नेपालका आदिल आलमले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिए । कुशल भुर्तेलले ३ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेख र सन्दीप जोराले अर्धशतकीय पारी खेले । आसिफले ४७ बलमा अविजित ६८ रन बनाए । जोराले ३९ बलमा ६३ रन बनाए ।

नेपाल ४३-३ को अवस्थामा हुँदादेखि आसिफ र जोरा मिलेर चौथो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए ।
वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेनले ४ ओभरमा २१ रन दिएर २ विकेट लिए । काइल मेयर्सले २ ओभरमा २६ रन दिएर २ विकेट लिए । जेदिया ब्लेड्सले एक विकेट हात पारे ।

यसअघि पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई हराएर ऐतिहासिक जित हासिल गरेको थियो । यस खेल जितपछि नेपालले टेस्ट राष्ट्रविरुद्ध ऐतिहासिक शृंखला समेत जितेको छ ।

अशोज १३, २०८२, रातीको ११:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर