विराटनगर । भदौ २३ र २४ गते भएको आन्दोलनुका कारण मोरङका सरकारी, सार्वजनिक र निजी सम्पत्तिमा ठूलो क्षति भएको छ ।
क्षतिपछि उत्पन्न परिस्थितिको समीक्षा गर्दै जनजीवन सामान्यीकरण र कार्यालयका सेवाहरू सुचारु गर्ने निर्णय भएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा आज मोरङ उद्योग व्यापार संघको सभाहलमा बसेको कार्यालय प्रमुखहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयको भवनसमेत ध्वस्त भएकाले बैठक अन्यत्र आयोजना गर्नुपरेको हो । प्रजिअ यादवका अनुसार मोरङमा रहेका संघीय र प्रदेशस्तरीय करिब सबै कार्यालयहरू जलेर ध्वस्त भएका छन् । स्थानीय तहका १७ वटा कार्यालयमध्ये कटहरी गाउँपालिका, रतुवामाई नगरपालिका र बुढीगंगा गाउँपालिका बाहेक १४ वटामा क्षति पुगेको छ ।
अधिकांश वडा कार्यालयहरूमा समेत क्षति भएको यादवले जानकारी दिए । केही भाडाका घरमा रहेका वा कम देखिने स्थानमा रहेका कार्यालयहरू भने जोगिएका छन् । जिल्ला प्रशासन कार्यालय स्वयम् पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
बैठकले जलेका सम्पत्तिहरूको विस्तृत मुचुल्का (क्षति मूल्यांकन प्रतिवेदन) तयार गर्न प्रहरीसमेतको समन्वयमा दुई–तीन दिनभित्र काम सम्पन्न गर्ने निर्णय गरेको । त्यसपछि क्षतिको मौद्रिक मूल्याङ्कन गर्न कार्यविधिअनुसार गठित समितिले काम गर्नेछ ।

बैठकले तत्काल सेवा सुचारु गर्नसक्ने अवस्थामा रहेका कार्यालयहरूलाई यथाशीघ्र सेवा पुनः सञ्चालन गरी जनजीवन सामान्यीकरण गर्न निर्देशन दिएको छ । सेवा सुचारु गर्न नसक्ने कार्यालयहरूले सूचनामार्फत सर्वसाधारणलाई जानकारी गराउनुपर्नेछ ।
मालपोत, नापी, जिल्ला प्रशासन कार्यालयजस्ता प्रमुख कार्यालयहरू बन्द रहेको अवस्थामा ती कार्यालयबाट प्रवाह हुने सेवाका लागि वडा कार्यालयबाट सिफारिस दिने कार्य तत्कालका लागि बन्द गरिएको छ ।
सीडीओ यादवले यो विपद्जन्य र आकस्मिकजन्य अवस्थालाई व्यवस्थित गर्न भोलि जिल्ला विपद् व्यवस्थापन समितिको (डिडिएमसी) बैठक बस्ने जानकारी दिए । उक्त बैठकमा सबै मेयर तथा स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा सेवाहरूलाई कसरी व्यवस्थित र सुचारु गर्न सकिन्छ भन्नेबारे विस्तृत योजना बनाइनेछ ।
कार्यालयहरूमा भएको क्षतिको भयावहता दर्शाउँदै सीडीओ यादवले भने, ‘काम गर्ने मनोविज्ञान बुझ्न मेरो अफिस आएर हेर्नुहोस् । हिजो मैले दुई–तीन पटक अफिसभित्र पसेर रुमालले पसिना पुछ्दा मेरो सेतो रुमाल पूरै कालो भयो ।’ उनको यो भनाइले कार्यालयभित्र जलेका संरचना र धुवाँ धुलोको प्रभाव कति व्यापक छ भन्ने स्पष्ट पारेको छ ।
यसैबीच प्रशासन कार्यालयको खरानी हुनबाट बचेको एउटा सटरबाट प्रमुख जिल्ला अधिकारी यादवले आफ्नोे काम कारबाही सुरू गरेका छन् ।
