अनुसन्धानमा ‘बडी वान’ क्यामराको प्रयोग

विराटनगर । मोरङ प्रहरीले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगलाई प्राथामिकतामा राखेको छ । प्रविधिको प्रयोग गरेर अपराधको सफल अनुसन्धान र रोकथाम नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले मोरङ प्रहरीले बडी वान क्यामराको प्रयोग सुरु गरेको हो ।

प्रहरीलाई अपराध अनुसन्धानमा सहयोग पुर्याउन मोरङको कटहरी गाउँपालिकाले स्थानीय प्रहरीलाई दुई थान ‘बडी वान क्यामरा’ प्रदान गरेको छ । यस प्रविधिमैत्री सहयोगले पालिकाभित्र शान्ति सुरक्षा कायम गराउनुका साथै अपराध अनुसन्धानलाई वैज्ञानिक र तथ्यपरक बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।कटहरी गाउँपालिकाले मोरङमा प्रहरीलाई अनुसन्धानमा सहयोग पु¥याउन डबी वान क्यामरा हस्तान्तरण गर्ने पहिलो स्थानीय तह बनेर उदाहरणीय कार्य गरेको हो ।

आइतबार कटहरी गाउँपालिकामा आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष देवराज चौधरीले कटहरी प्रहरी चौकी र थलाहा प्रहरी चौकीका लागि उपलब्ध गराइएका उक्त क्यामरा मोरङ प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद चिमरियालाई हस्तान्तरण गरे । अध्यक्ष चौधरीले १ लाख ८४ हजार रुपैयाँ मूल्य पर्ने दुई थान बडी वान क्यामरा हस्तान्तरण गर्दै प्रविधिको प्रयोगले अपराध अनुसन्धानमा महत्वपूर्ण सहयोग पुग्ने बताए । उनले गाउँपालिकाले कटहरी प्रहरी चौकीको लागि पाँच कठ्ठा जग्गा पनि चाँडै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । हाल कटहरी प्रहरी चौकी गाउँपालिका भित्रकै भवनमा बस्दै आएको छ ।

बडी वान क्यामरा ग्रहण गर्दै मोरङ प्रहरी प्रमुख एसपी चिमरियाले यस प्रकारको प्रविधिले अपराध अनुसन्धानलाई वैज्ञानिक र तथ्यपरक बनाउँदै समग्र शान्ति सुरक्षा व्यवस्थापनमा ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गरे । ‘पछिल्लो समय समाजमा विभिन्न खालका अपराधहरू बढ्दै गएका छन् । त्यसको रोकथाम र नियन्त्रणका लागि यस्तो क्यामराले अपराध रोकथाम र नियन्त्रण गर्नुका साथै अनुसन्धानमा ठूलो भूमिका निर्वाह गर्दछ,’ उनले भने । एसपी चिमरियाले अन्य पालिकाहरूलाई पनि यस्तै सहयोगका लागि आग्रह गरिएको बताए । ‘बडी वान क्यामराले तथ्यसहितको अनुसन्धानमा सहयोग पु¥याउनेछ । यसले प्रहरीको आचरण र व्यवहारलाई पनि अनुगमन गर्न सक्नेछ, जसले गर्दा अपराध अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल्नेछ, ’ उनले भने । यसबाट प्रहरीको काममा पारदर्शिता आउने र नागरिकको विश्वास थप बढ्ने अपेक्षा गरिएको छ । आधुनिक प्रविधिको प्रयोगले अनुसन्धान प्रक्रियामा निष्पक्षता र प्रमाणिकता बढाउँछ, जसले गर्दा न्यायिक प्रक्रियामा पनि सहजता आउने उनको भनाइ छ ।

प्रहरी सेवामा बडी वान क्यामराको प्रयोग बढ्दो क्रममा रहेको छ । यी क्यामराले घटनाको वास्तविक भिडियो र अडियो प्रमाण कैद गर्ने भएकाले अनुसन्धानकर्ताहरूलाई सत्य पत्ता लगाउन र दोषीलाई न्यायको कठघरामा ल्याउन मद्दत पुग्छ । यसका साथै, यसले प्रहरी अधिकारीहरूको व्यक्तिगत सुरक्षामा पनि सहयोग पु¥याउँछ र उनीहरूको कार्यसम्पादनको मूल्याङ्कन गर्नसमेत आधार प्रदान गर्छ । प्रहरी र नागरिकबीचको अन्तरक्रियाका क्रममा हुने गतिविधिहरूको रेकर्ड राख्दा दुवै पक्षमा जवाफदेहिता बढ्छ र अनावश्यक विवादहरू कम गर्न मद्दत पुग्छ ।

कटहरी गाउँपालिकाले चालेको यो कदमले अन्य स्थानीय तहहरूलाई पनि प्रहरी सेवामा प्रविधिको प्रयोगका लागि प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । अपराधको बढ्दो स्वरूप र प्रविधिको विकाससँगै प्रहरीको अनुसन्धान प्रक्रियालाई पनि सोही अनुसार आधुनिकीकरण गर्नु अपरिहार्य भएको छ । यस प्रकारका सहयोगले स्थानीय सरकार र सुरक्षा निकायबीचको सहकार्यलाई थप बलियो बनाउँदै एक सुरक्षित र अपराधमुक्त समाज निर्माणको दिशामा महत्वपूर्ण योगदान पु¥याउने एसपी चिमरियाले बताए ।

भदौ २३, २०८२, बिहानको १०:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर