वातावरण प्रदूषित गर्दै ग्रिन टायर्स उद्योग,विषाक्त ग्यासले स्थानीयको जनस्वास्थ्यमा गम्भीर असर

कटहरीका दुईसय घरपरिवार प्रत्यक्ष पीडित भएपछि न्यायिक समितिमा उजुरी

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा सञ्चालित ग्रिन टायर्स लिमिटेडले सञ्चालन गरेको टायरसँग सम्बन्धित तीनवटा उद्योगहरूले उत्सर्जन गर्ने विषाक्त वायुले स्थानीयवासीको जनस्वास्थ्यमा गम्भीर असर पार्नथालेको छ । प्रदूषित वायुका कारण मानवजीवनसँगै कृषि, बोटबिरुवा र समग्र वातावरणमाथि गम्भीर असर परिरहेको छ ।

विराटनगरका उद्योगी बिनित सिंघानियाको स्वामित्वमा रहेका ग्रिन कन्ट्रक्सन, ग्रिन टायर्स र ग्लोबस बायो इन्भेष्टमेन्ट इनर्जीबाट चौबीसै घण्टा निस्कने दूषित धूवाँ र रसायनले कटहरी गाउँपालिकाका १, २, ३ र ४ नम्बर वडाका दुई सयभन्दा बढी घरपरिवारलाई प्रत्यक्ष रूपमा पीडित बनाएको भन्दै समाधानका लागि उनीहरुले न्यायिक समितिमा उजुरीसमेत दिएका छन् ।
प्रदूषणको यो विकराल समस्याका कारण आजित भएका स्थानीयले न्यायको माग गर्दै गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिन बाध्य भएका छन्, तर उद्योग सञ्चालक भने यसलाई सामान्य दाउराको धुवाँ भन्दै पन्छिन खोजिरहेका छन्, जसले स्थानीय समुदायको स्वास्थ्य र भविष्यमाथि नै प्रश्नचिन्ह खडा गरेको छ ।

करिब २० बिघा क्षेत्रफलमा फैलिएको यो औद्योगिक कम्प्लेक्सभित्र ग्रिन कन्ट्रक्सनले सिमेन्टको स्ल्याब, ग्रिन टायर्सले मोटरसाइकलदेखि ठूला सवारी साधनका टायर र ग्लोबल बायो इन्भेष्टमेन्टले उद्योग तथा सडक पिचमा प्रयोग हुने तेल उत्पादन गर्दछ । यी तीनवटै उद्योगबाट दिनरात निस्कने दूषित धूवाँ र प्रदूषणले कटहरीवासीको दैनिक जीवनलाई कष्टकर बनाएको हो । उद्योगबाट निस्कने कालो धूवाँको मुस्लो र बिषाक्त रसायनले गर्दा कटहरी गाउँपालिकाको ४ नम्बर मात्र होइन, १ नम्बर वडासम्म प्रत्यक्ष रूपमा प्रभावित गरिरहेको छ । स्थानीय बासिन्दाहरूको भनाइमा, यो प्रदूषण उनीहरूको जीवन, स्वास्थ्य, पर्यावरण, कृषि, जैविक विविधता लगायत सम्पूर्ण क्षेत्रमाथि नकारात्मक असर पारिरहेको छ । औद्योगिक नाफाका लागि स्थानीय जनताको स्वास्थ्य र वातावरणीय अधिकारमाथि खेलवाड गर्ने काम भएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन् ।
बालबालिका र वृद्धवृद्धाको जीवन जोखिममा

प्रदूषणको यो भयावह अवस्थाले मानव स्वास्थ्यमाथि दीर्घकालीन र घातक प्रभाव पारेको छ । कटहरी १ की ६४ वर्षीया शान्ता नेपालले उद्योगबाट निस्कने प्रदूषणका कारण केही वर्षदेखि आफ्नो स्वास्थ्यमा गम्भीर असर पर्न थालेको गुनासो गरिन् । उनका अनुसार, “दिनभरि र रातभरि उद्योग चल्दा वातावरणमा नराम्रो असर पु¥याएको छ । उद्योगबाट दूषित धूवाँको मुस्लो निस्कने गरेको छ । यसबाट कटहरी गाउँपालिकाको ४ नम्बर वडा मात्र होइन, १ नम्बर वडासम्म आइपुग्ने गरेको छ ।”

स्थानीय भवानीप्रसाद दाहालले उद्योगका मेशिनहरू राति १२ बजेपछि पनि चल्ने गरेको र उपकरणबाट निस्कने कबाड प्रयोगबाट निस्कने धुवाँका कारण प्राकृतिक प्रदूषण भयावह अवस्थामा पुगेको बताए । उनले यसले बालबालिकालाई अक्सिजन लिनै नसक्ने र धेरैमा दमको समस्यासमेत देखिएको बताए । दाहालका अनुसार बालबालिकाहरूलाई श्वासप्रश्वासका अतिरिक्त पाचनमा समस्या हुने, आँखाको समस्या बढ्दै गएको र तनावसम्बन्धी समस्या पनि देखिनथालेको छ ।
माटो विषाक्त बनेपछि कृषि उत्पादन घट्दै ।

वायु प्रदूषणले मानव स्वास्थ्यमा मात्र नभएर कृषि उत्पादनमा समेत ठूलो क्षति पु¥याएको छ । शान्ता नेपालका अनुसार, खेतबारीमा लगाएको धानमा पनि असर गरिरहेको छ । उद्योगबाट निस्किएको धुवाँले धानको पातलाई पुरै कालो बनाइदिएको छ । यसले गर्दा बालीको उत्पादनमा ह्रास आएको उनले बताइन् । त्यस्तै, सेतो लुगा लगाएर एक पटक गाउँ घुमेर फर्किँदा कालो हुने गरेको भन्दै उनले त्यहाँको जनजीवन सामान्य नभएको दाबी गरिन् । बोटबिरुवामा पनि विषाक्त धुँवाका कारणले असर परिरहेको र कृषि उत्पादनसमेत विषाक्त हुने चिन्ता उनीहरुमा थपिएको छ ।

टायरको धूवाँ, त्यसबाट निस्किने केमिकल्स आदिले माटोको उर्वरा शक्तिसमेत नष्ट गरिरहेको र समग्र पारिस्थितिक प्रणालीलाई नै विनाश गरिरहेको उनीहरुको आरोप छ ।प्रदूषणको विकराल समस्याका कारण हैरान भएका स्थानीयहरूले अब यसलाई सहेर बस्न नसक्ने निर्णय गरेका छन् । उनीहरूले उद्योगलाई व्यवस्थित गर्न वा स्थायी रूपमा बन्द गरेर जनतालाई सहजता प्रदान गर्न माग गरेका छन् । उनीहरुले कटहरी गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएका हुन् । स्थानीय भवानीप्रसाद दाहालले प्रदूषणमुक्त स्वच्छ वातावरणको माग गर्दै, नागरिकको स्वास्थ्य सुरक्षित राखी कृषि उत्पादनलाई अवरोध नगरी जैविक सुरक्षा कायम राख्न र वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण व्यवस्थापन गर्न बनेको ऐन, २०७६ बमोजिम उद्योग चलाउनु पर्ने अन्यथा बन्द गर्नुपर्ने माग गरेका छन् ।

स्थानीयको गुनासो र पीडालाई सम्बोधन गर्दै कटहरी गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक सीतादेवी राजवंशीले पीडितहरूले दिएको निवेदन र प्रतिवादीको जवाफ दुवै सुनेको जानकारी दिइन् । उनले उद्योगको स्थलगत निरीक्षण गर्ने निर्णय भएको बताइन् । राजवंशीले भनिन्, “न्यायिक समितिको तर्फबाट स्थलगत निरीक्षण गर्ने निर्णय भएको छ । त्यस अनुसार कटहरी १ र ४ नम्बर वडाका प्रतिनिधि र निवेदकहरूको तर्फबाट पाँच जनालाई निरीक्षणमा लैजाने सहमति भएको छ ।” निरीक्षणपछि थप विषयमा आदेश हुने उनले बताइन् ।

स्थानीय निकायले यस विषयलाई गम्भीरतापूर्वक लिएर स्थलगत निरीक्षण गरेपछि पीडितहरूमा केही आशा पलाएको स्थानीय राधे कामतले बताए । तर, उनले समस्याको दीर्घकालीन समाधानका लागि थप कठोर कदम स्थानीय तहले चाल्नुपर्ने बताए ।
उद्योग भन्छ टायरको होइन दाउराको धुँवा हो

यता, उद्योगका अध्यक्ष बिनित सिंघानियाले भने उद्योगबाट निस्कने भनेको दाउराको धुवाँ मात्रै भएको दाबी गर्दै प्रदूषणले त्यस्तो असर नगर्ने दाबी गरे । उनले टायर उत्पादन गर्दा उद्योगको चिम्नी बालन दाउरा प्रयोग गर्ने गरेकोले दाउराको धुवाँले स्वास्थ्यमा खासै नकारात्मक असर नगर्ने बताए । स्थानीयले विरोध गरेपछि यसलाई व्यवस्थित गर्ने काम भइरहेको सिंघानियाले बताए । “नयाँ प्रविधि आएको छ । त्यो टेक्नोलोजी आएपछि धुवाँलाई केही हदसम्म नियन्त्रणमा गर्दछ,” उनले भने । विगत सात वर्षदेखि सञ्चालनमा रहेको यो उद्योगबाट दैनिक ६ हजार लिटर फर्नेस आयल उत्पादन गर्दै आएको जनाएको छ ।

तर, उद्योग सञ्चालकको यो दाबी र स्थानीयको भोगाइमा आकाश–जमीनको भिन्नता देखिन्छ । स्थानीयवासीले धुवाँ मात्र नभई रसायन र अन्य दूषित पदार्थका कारण व्यापक प्रदूषण भएको दाबी गरिरहेका छन् । दाउराको धुवाँ मात्र भएको भए खेतको धानका पातलाई कालो नबनाउने र इँटाभट्टाको वरिपरि पनि यतिधेरै समस्या नहुने उनीहरुको भनाइ छ ।

उनीहरुले प्रश्न गर्दै भने दाउराको धुँवाले सेतो लुगा किन कालो भयो ? बालबालिकालाई श्वासप्रश्वासमा किन समस्या आयो ? ।
उद्योगको यस किसिमको बेवास्ता र सञ्चालकको गैरजिम्मेवार भनाइले स्थानीय समुदायको स्वास्थ्य र वातावरणमाथि खेलवाड भइरहेको भन्दै सरकार र सम्बन्धित निकायको तत्काल ध्यान जानुपर्नेस्थानीय रोहितबहादुर थापाले बताए । वातावरण संरक्षण ऐन, २०७६ र अन्य वातावरणीय कानुनको खुलेआम उल्लंघन भइरहँदा समेत नियामक निकायहरू भने मौन बसेका छन् । यसलाई स्थानीयले शंकाको नजरले हेरिरहेका छन् ।

भदौ २३, २०८२, बिहानको १०:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर